

काठमाडौँ – भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातले उनको मृत्यु भएको हो।

बिहीबार सास फेर्न गाह्रो भएपछि मुम्बईस्थित नानावती अस्पताल लग्दै गर्दा स्थानीय समयअनुसार साँझ ७ बजेतिर बाटोमै उनको मृत्यु भएको उनका भाइ ललित पण्डितलाई उद्र्धत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।

सुलक्षणाले सन् १९७५ मा सञ्जीव कुमारसँग चलचित्र उल्झनबाट ‘डेब्यु’ गरेकी थिइन् । त्यसपछि राजेश खन्ना, शशि कपूर, अमिताभ बच्चन र विनोद खन्नालगायत आफ्नो समयका लगभग सबै शीर्ष स्टारसँग काम गरिन्। संकोच, हेराफेरी, खानदान, धरमकाँटा, दो वक्तकी रोटी र गोरा लगायत उनले अभिनय गरेका चलचित्र हुन्।


पार्श्व गायिकाको रूपमा उनले समानान्तर र उत्तिकै प्रभावशाली करिअर बनाएकी थिइन्।सुलक्षणाले हिन्दी, बंगाली, मराठी, उडिया र गुजरातीलगायत विभिन्न भाषामा गीत गाएकी छिन्।
उनी हरियाणाको हिसारको एक संगीतमय परिवारमा हुर्केकी थिइन्। शास्त्रीय संगीतका महारथी पण्डित जसराज उनका काका हुन्। उनका भाइ जतिन र ललित ९० को दशकमा जतिन–ललितको नामबाट पार्श्वसंगीतमा ख्याति कमाएका थिए। सुलक्षणकी बहिनी विजयता पनि अभिनेतृ हुन्।

