Aamsanchar

कुलमान घिसिङको ‘नेपाल जनसेवा पार्टी’ अन्तिम चरणमा, सोमबार दर्ता गर्ने तयारी

Author Image
आइतवार, कार्तिक २४, २०८२

अन्तरिम सरकारका उर्जामन्त्रीसमेत रहेर व्यवस्थापन दक्षताका कारण चर्चामा आएका कुलमान घिसिङले नयाँ राजनीतिक दल ायचmबतष्यल को अन्तिम गृह–कार्य पूरा गर्दैछन्। जेनजी पुस्तालाई लक्षित गर्ने उनको दीर्घ–योजना अनुसार ‘नेपाल जनसेवा पार्टी’ नाममा दल दर्ता गर्ने तयारी लगभग पक्का भएको स्रोतहरूले जनाएको छ। पार्टीको प्रस्तावित चुनाव चिन्ह ‘बिजुलीको बल्ब (चिम)’ रहनेबारे पनि उच्चस्तरीय सहमति जुटिसकेको बताइन्छ।

यस नयाँ शक्तिमा कुलमान घिसिङसँगै सुदन गुरुङ नेतृत्वकर्ता समूह, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय, तथा संयूक्त पहिचानवादी मोर्चा समावेश हुने लगभग निश्चितजस्तै देखिएको छ। पहिचानवादी मोर्चामा आठवटा पहिचानवादी घटक आवद्ध छन्, जसले पार्टीलाई विविध सामाजिक–सांस्कृतिक समूहको प्रतिनिधित्व दिने अपेक्षा राखिएको छ।

आइतबार साँझदेखि सुरु हुने निर्णायक छलफलबाट उनको भूमिका टुंगो लाग्ने उच्च स्रोतको भनाइ छ। “आउन सक्ने सम्भावना धेरै छ, तर केही विषयमा मतभिन्नता कायम छ। आज राति अन्तिम वार्तापछि सबैकुरा स्पष्ट हुनेछन्,” एक स्रोतले टिप्पणी गरे।

कुलमान पक्षले यसअघि ‘उज्यालो नेपाल पार्टी’ नाममा दल बनाउने प्रयास गरे पनि उक्त प्रस्ताव जेनजी समूह, बालेन पक्ष र सुमना श्रेष्ठले अस्वीकार गरेपछि नयाँ नाममा सहमति खोजिएको हो। “नाम–चिन्हकै कारण ढिलाइ भएको थियो। अहिले ‘नेपाल जनसेवा पार्टी’ मा सबैको सकारात्मक संकेत आएको छ,” एक नेताले बताए।

दल दर्ता प्रक्रिया सोमबारै निर्वाचन आयोगमा पेश गर्ने तयारी भइरहेको जनाइएको छ। नेतृत्वको जिम्मेवारी तत्काल कुलमान घिसिङकै हातमा केन्द्रित हुने सम्भावना उच्च भए पनि अन्तिम घडीमा विवाद देखा परे अन्य कुनै संयोजक तोक्ने विकल्प खुला रहेको निर्माण टोलीका एक सदस्यको दाबी छ।

“दिउँसोसम्मको छलफलमा कुलमानजी नेतृत्वमा जान सहमति थियो। यदि अन्तिम क्षणमा मतभेद भयो भने पनि टोली अग्रसर रहन्छ, आवश्यक परे संयोजक तोक्नेछौँ,” ती नेताले भने।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर