Aamsanchar

१२ किलोमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Author Image
सोमवार, कार्तिक २५, २०८२

सिमरा- पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । १२ किलो भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा ट्रकको सहचालकको मृत्यु भएको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली पुगेको छ ।

 

उक्त क्षेत्रमा आइतबार रातीदेखि हात्तीले आतंक मच्चाइरहेको थियो । राजमार्गमा हात्ती देखिएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोलीले मध्यरातमा हात्ती भगाएपनि बिहानको समयमा पुनः राजमार्गमा निस्किएको हात्तीले सहचालकलाई आक्रमण गरेको हो ।

हात्तीका कारण उक्त सडकखण्ड अहिले प्रभावित छ । हात्तीले आइतबार साँझ बाराको पथलैयामा राजमार्ग अवरुद्ध पारेको थियो । बस्तीको बीचमा हात्ती देखिएपछि स्थानीय समेत आतंकित भएका थिए । प्रहरी र स्थानीयले पट्का पड्काउँदै हात्ती भगाएका थिए ।

 

डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले हात्तीलाई नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली हिँडेको जानकारी दिए । उनले हात्तीबाट थप क्षति हुन नदिन समन्वय भइरहेको बताए । थप विवरण आउन बाँकी छ।

 

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर