

बिर्तामोड। नोभेम्बर १४ अर्थात् कार्तिक २८ गते विश्वभर “विश्व मधुमेह दिवस” मनाइँदैछ। यस वर्षको नाराको मर्म रहेको छ — “Play your part at work” अर्थात् “आफ्नो कार्यस्थलमा मधुमेहका बारेमा बुझौं र आवश्यक सहयोग गरौं।”

बिर्तामोडस्थित आर आर पोलिक्लिनिकका डा. प्रशिद्ध ढकालका अनुसार मधुमेह भएका धेरैजना व्यक्ति आफ्नो कार्यस्थलमै विभिन्न कठिनाइ भोगिरहेका छन्। “धेरैजसो बिरामीले कार्यस्थलमा इन्सुलिन लिन, औषधि खान वा सुगर जाँच गर्न लजाउँछन्। कतिपयलाई त सहकर्मीको टिप्पणी वा भेदभावकै कारण मानसिक तनावसमेत हुन्छ,” उनले बताए।

डा. ढकालका अनुसार यस्तो हिचकिचाहटले मधुमेह नियन्त्रणमा नराखी अन्य अंगहरूमा गम्भीर असर पुर्याउने खतरा बढाउँछ। “दिउँसोको इन्सुलिन छुट्ने, लामो समय भोकै बस्ने वा सुगर चेक नगर्ने कारणले कतिपय बिरामीलाई कार्यालयमै चक्कर आउने वा बेहोस हुने अवस्था आउने गरेको छ,” उनका भनाइ छ।
उनले कार्यस्थलमा सबैले मधुमेहबारे सही जानकारी राख्न र मधुमेह भएका सहकर्मीप्रति सहयोगी व्यवहार देखाउन आग्रह गरे। “यदि कुनै सहकर्मीलाई मधुमेह छ भने उनलाई समयमा खाजा खान समय दिने, आवश्यक परे सहयोग गर्ने— यही नै मानवता र सहकार्यको चिनो हो,” डा. ढकालले भने।
डा. ढकालका अनुसार मधुमेह आधुनिक समाजको महामारी बन्दै गएको छ। त्यसैले आज नभए पनि भोलि आफू वा आफन्तलाई हुनसक्ने सम्भावनालाई ध्यानमा राखी सबैले सचेत, संवेदनशील र सहयोगी बन्नुपर्ने उनले सुझाएका छन्।
डा. प्रशिद्ध ढकालका अनुसार मधुमेह (Diabetes Mellitus) भनेको शरीरमा इन्सुलिनको कमी वा इन्सुलिनको प्रभावकारिता घट्दा रक्तमा चिनी (सुगर)को मात्रा असामान्य रूपमा बढ्ने रोग हो।
“मधुमेह कुनै संक्रामक रोग होइन, तर यो नियन्त्रणमा नल्याए हृदयघात, मिर्गौला फेल, आँखाको दृष्टि कमजोर हुने, नसाहरू बिग्रनेजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ,” डा. ढकालले चेतावनी दिए।
मधुमेहबाट बच्ने उपायहरू
डा. ढकालका अनुसार मधुमेह रोकथामका मुख्य उपाय यसप्रकार छन् —
-
दैनिक कम्तीमा ३० मिनेट शारीरिक व्यायाम गर्ने।
-
तौल नियन्त्रणमा राख्ने र अत्यधिक बोसोयुक्त खाना कम गर्ने।
-
मिठाई, चिनी, कोल्ड ड्रिंक र प्रशोधित खाद्यपदार्थको सेवन घटाउने।
-
धूम्रपान र मदिरा सेवन त्याग्ने।
-
नियमित रूपमा रक्तचाप र सुगर परीक्षण गर्ने।
-
तनाव कम गर्ने र पर्याप्त निद्रा लिने।
“जीवनशैलीमा सानो परिवर्तनले पनि मधुमेहबाट बच्न वा नियन्त्रण गर्न ठूलो भूमिका खेल्छ,” डा. ढकालको भनाइ छ।
आर आर पोलिक्लिनिकद्वारा प्रदान गरिँदै आएका सेवा
बिर्तामोडस्थित आर आर पोलिक्लिनिकले मधुमेहसम्बन्धी निम्न सेवा उपलब्ध गराइरहेको छ —
-
ब्लड सुगर, HbA1c, लिपिड प्रोफाइल, मिर्गौला र थाइराइड परीक्षण
-
मधुमेह परामर्श सेवा (Diabetes Counseling)
-
इन्सुलिन तालिम र डाइट प्लानिङ
-
मधुमेहजन्य आँखाको समस्या जाँच (Diabetic Retinopathy Screening)
-
मधुमेह फूटकेयर क्लिनिक र नियमित स्वास्थ्य परीक्षण कार्यक्रम
डा. ढकालका अनुसार, “आर आर पोलिक्लिनिकले बिरामीलाई केवल औषधि होइन, जीवनशैली सुधारका उपायहरू पनि सिखाउँदै आएको छ।” उनले थपे, “हामी सबैले कार्यस्थलदेखि घरपर्यन्त मधुमेह भएका व्यक्तिहरूलाई सहयोग गर्ने वातावरण बनाउनुपर्छ।”
डा. ढकालको सन्देश अनुसार — मधुमेह नियन्त्रण सम्भव छ, जरुरी केवल सचेतता, नियमितता र सहकार्य हो।

