Aamsanchar

आयोगद्वारा नेकपा माओवादी केन्द्र सहित सात दल खारेज

Author Image
आइतवार, मंसिर १, २०८२

काठमाडौँ –  निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र सहित सात दल खारेज गरेको छ । आयोगमा यसअघि दर्ता भएका माओवादी, नेकपा एकीकृत समाजवादी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट(समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी खारेज भएका हुन् ।

यी पार्टीले कात्तिक १९ गते एकता गरी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाएका थिए । सोही दिन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नेकपाले प्रमाणपत्र पाइसकेको छ । खारेज हुने अन्य दलमा वामदेव गौतमको नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान र सीके राउन नेतृत्वबाट अलग भइ दर्ता कायम भएको जनस्वराज पार्टी खारेज भएको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा आइतबारसम्म ३५ दलले निवेदन दिएका थिए । तीमध्ये २८ दल दर्ताको प्रक्रियामा रहेको छ । आयोगले असोजमा सार्वजनिक गरेको कार्यतालिका अनुसार कात्तिक ३० गतेसम्म दलदर्ता प्रमाणपत्र प्राप्त गर्ने दलले मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने निर्णय गरेको थियो । अघिल्लो निर्णय खुकुलो बनाउँदै आयोगले मंसिर ५ गतेसम्म दल दर्ताका लागि निवेदन दिने दलहरूले पनि निर्वाचनमा भाग लिन पाउनेगरी सहजीकरण गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

‘दल दर्ता प्रमाणपत्र लिने समय आजबाट सकिएको छ । भोलिदेखि निर्वाचनमा भाग लिने दलहरूको दर्ता अगाडि बढ्छ । निर्वाचन प्रक्रियासँगै दल दर्ता प्रक्रियालाई पनि सहजीकरण गर्नेगरी मंसिर ५ गतेसम्म बढाएका छौँ । त्यसका लागि छुट्टाछुट्टै डेक्स राखेर काम गर्नेछौँ । समयको चापका कारण हामीले दिनरात नभनी सेवामा खटिरहेका छौँ,’ उनले भने ।

सेवाग्राहीहरूलाई सहजीकरण गर्नका लागि आयोगले दुई समुहमा काम गरिरहँदा समेत निकै चाप बढेको देखिन्थ्यो । प्रवक्ता भट्टराईले मतदता नामावलीमा अध्यावधिक गर्नेको संख्या चार लाख ८५ लाख पुगेको जानकारी दिए । दुई लाख ८५ हजार जनाले प्रत्यक्ष सहभागी भएर अध्यावधिक गराएको र दुई लाख राष्ट्रिय परिचयपत्रबाट अध्यावधिक भएको भट्टारईले जानकारी दिए ।

Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर