

झापा, झापाको बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट आफ्नो प्रकाशन यात्राको ३१ औं वर्षमा प्रवेश गरेको छ । स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रका महत्वपूर्ण घटनाक्रमलाई सन्तुलित रूपमा प्रस्तुत गर्दै आएको यो पत्रिका अब डिजिटल रूपान्तरणको नयाँ यात्रामा अघि बढ्ने घोषणा सहित ३ दशकको सफल यात्रा पार गर्दै नयाँ ऊर्जासहित ३१ वर्षमा प्रवेश गरेको हो ।

लेटर प्रेसको सीमित ढाँचाबाट सुरु भएको पूर्वाञ्चल दैनिक अहिले अत्याधुनिक अफसेट प्रविधिमा प्रकाशित हुन्छ । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याएर उदाहरण बनेको पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालबाट ‘क’ श्रेणी प्राप्त विश्वसनीय पत्रिका पनि हो ।

बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिले प्रकाशन तथा वितरणको जिम्मेवारी सम्हाल्दै आएको छ ।
३१ वर्ष प्रवेशको अवसरमा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल दैनिकलाई यो स्थानसम्म ल्याउन साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । पत्रिकाको विकासमा पाठक, विज्ञापनदाता र सम्पूर्ण सहकर्मीहरू आधार स्तम्भ भएको व्यवस्थापक चन्द्रकान्त ढकालको भनाई छ ।
सामान्य छापाखानाबाट सुरु भएको पत्रिका अहिले प्रिन्टसँगै डिजिटल माध्यममा पनि समान रुपमा सक्रिय छ । प्रविधिको द्रुत विकाससँगै पूर्वाञ्चल दैनिकले आफ्नै अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकसँग प्रत्यक्ष सम्पर्क कायम गरेको छ ।
मोबाइलमै ताजा समाचार, अपडेट, रंगीन ई–पेपर पढ्न सकिने सेवा विस्तारपछि नयाँ पुस्तामा यसको पहुँच उल्लेख्य रूपमा बढेको छ ।
व्यवस्थापक ढकालका अनुसार अब पत्रिकाको बजार विस्तारसँगै अनलाइनमा भिडियो सामग्री, श्रव्य–दृश्य सहितको समाचार बुलेटिन, कार्यक्रम प्रसारण जस्ता नयाँ योजनाहरू कार्यान्वयनको चरणमा छन् । परिवर्तित समयले छिटो, विश्वसनीय र सहज समाचार प्रवाह मागेको छ व्यवस्थापक ढकालले भने – पूर्वाञ्चल दैनिक त्यसैअनुसार नयाँ ढंगले अघि बढ्दैछ ।
विभिन्न आर्थिक–सामाजिक चुनौतिका बीच पनि निरन्तरता नटुटेको मोफसलका थोरै पत्रिकामध्ये पूर्वाञ्चल दैनिक एक हो । पाठकको विश्वास र विज्ञापनदाताको साथले पत्रिकाले आफ्नो समाचार , विश्लेषण र जिम्मेवार पत्रकारिताद्वारा आफ्नो स्थान मजबुत बनाउन सफल भएको प्रधान सम्पादक गिरी बताउँछन् ।उनका अनुसार पत्रिकाकै बलमा अब प्रकाशन गृहलाई मोफसलमा पहिलो कर्पोरेट हाउसको रूपमा विकसित गरिने लक्ष्य रहेको छ ।
पत्रिका कोशी प्रदेशका अधिकांश जिल्लामा प्रत्यक्ष रूपमा वितरण हुन्छ भने भारतका केही सीमावर्ती बजारमा पनि यसको राम्रो उपस्थिति छ । स्थानीय सरकार, सामाजिक अभियान, विकास योजना, व्यापार–व्यवसायदेखि कला–संस्कृतिसम्म सबै विषयलाई प्राथमिकताका साथ समेट्दै आएको पूर्वाञ्चल दैनिक स्थानीय समुदायको आवाज बोल्ने विश्वसनीय सञ्चार माध्यमका रूपमा स्थापित छ ।
स्थानीय मुद्दा, सामाजिक सरोकार, क्षेत्रीय विकास र जनजीविकासँग जोडिएका रिपोर्टिङका कारण पूर्वाञ्चल दैनिक पाठक माझ स्थायी लोकप्रियतामा रहँदै आएको छ ।
३० वर्ष पूरा गरेर ३१ औं वर्षमा प्रवेश गर्दा पत्रिकाले ‘नयाँ पुस्ता, नयाँ प्रविधि र नयाँ युगको पत्रकारिता’लाई आत्मसात गर्दै जिम्मेवार र गुणस्तरीय समाचार उत्पादनमा अझ सुदृढ रूपमा अघि बढ्ने घोषणा गरेको छ

