Aamsanchar

भद्रपुर साइकल सोसाइटीद्वारा ‘टुर दि मेची–महाकाली’ यात्रा सफलतापूर्वक समापन

Author Image
मङ्गलवार, मंसिर ३, २०८२

बिर्तामोड । भद्रपुर साइकल सोसाइटी, झापाले आयोजना गरेको दीर्घ दूरीको साइक्लिङ अभियान “टुर दि मेची–महाकाली” आज नौ दिनको यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ ।
समूहले आफ्नो अन्तिम गन्तव्य पश्चिम सिमाक्षेत्र गड्डाचौकीको पिलर नं. ८०५/१–७ मा पुगेपछि यात्रा समापन भएको घोषणा गरेको हो।

यस अभियानमा सहभागी राइडरहरूमा अध्यक्ष तथा अभियान संयोजक जीवनकुमार श्रेष्ठ, कोषाध्यक्ष देबीबहादुर श्रेष्ठ, सल्लाहकार मनोज सिंह, सदस्य समीर पोखरेल र विश्वचन्द्र महतो
लगायतले कठिन र लामो दूरी पार गर्दै यात्रा पूरा गरेका छन्। संस्थाले सुरक्षित र सफलतापूर्वक यात्रा सम्पन्न गरेकोमा सबै राइडरलाई हार्दिक बधाई व्यक्त गरेको छ ।

यात्राको सुरुआत मेची पुलबाट
सोसाइटीले भद्रपुरस्थित मेची नदी पुलबाट २०८२-७-२३ गते शुभयात्रा आरम्भ गरेको थियो। यात्राभर सहयोग र शुभकामना प्रदान गर्ने संघ–संस्था, व्यक्तित्व तथा पदाधिकारीहरू प्रति सोसाइटीका अध्यक्ष जीवनकुमार श्रेष्ठले आभार व्यक्त गरेका छन् ।

यात्राका क्रममा निरन्तर सहयोग गर्ने विभिन्न साइक्लिङ क्लबहरूप्रति सोसाइटीले विशेष धन्यवाद ज्ञापन गरेको छ । ती क्लबहरूमा— उदयपुर साइक्लिङ संघ, हिमालयन राइडर्स सोसाइटी, हेटौंडा, कावासोति राइडर्स क्लब, नवलपरासी राइडर्स क्लब, साइकल सिटी भैरहवा, तिलत्तोमा राइडर्स क्लब, साइकल साथी सैनामैना, बाणगंगा राइडर्स क्लब, साइकल सिटी हेटौंडा, कञ्चनपुरका साइक्लिस्टहरू सामेल थिए ।

भद्रपुर साइकल सोसाइटीले आगामी दिनमा पनि स्वस्थ जीवनशैली, वातावरण संरक्षण र साइक्लिङ संस्कृति विस्तारका अभियान निरन्तर चलाइने प्रतिबद्धता व्यक्त गरेको छ । अबको यात्रा व्यक्तिगत हुने र तीन सदस्य टोली साइकल चलाएरै भद्रपुर फर्कने जनाइएको छ ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर