

महोत्तरी – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा सोमबार साँझ एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ।

जलेश्वर नगरपालिका–९ आगेपुर निवासी करिब ६० वर्षीय बेचन राइनको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले वृद्ध राइनको हत्या गरेको आरोपमा जिल्ला धनुषा नगराइन नगरपालिका ९ फुलगामा निवासी अन्दाजी २० वर्षीय गुड्डू मण्डललाई पक्राउ गरिएको उनले जानकारी दिए।
हत्यापछि सोही वड़ाको अर्को टोलमा रहेको आफ्नो दिदीको घर छेउछाउमा लुकेको अवस्थामा मण्डललाई पक्राउ गरिएको हो।
मृतक बेचन राइनको छोरा सिरातुन राइनले बुवाको टाउकोको पछाडी करिब चार चोटी खुकुरीले प्रहार गरिएको र राइनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
हत्या गर्ने मण्डल रक्सीको नशामा लठिएको अवस्थामा रहेको बताउँदै सिरातुनले मेरो बुवा कसैसँग झगडा नगर्ने मान्छे रहेकाले राइनको हत्याका कारणबारे आफुलाई थाहा नभएको बताए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता भट्टले हत्याको यकीन कारण अनुसन्धानपछि मात्र खुल्ने जानकारी दिए।

