बिर्तामोड । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आगामी पुसमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । करिब एक वर्षअघि चुनौतीपूर्ण अवस्थामै बैंकको नेतृत्व सम्हालेका अध्यक्ष महेन्द्र कुमार गिरीको कार्यकाल मङ्सिरको अन्तिम सातासँगै सकिँदैछ । सुधार, पुनर्संरचना र पारदर्शिताका आधारमा बैंकलाई पुनः गतिमा ल्याएको दाबी गर्दै अध्यक्ष गिरीले आमसंचार संगको कुराकानीमा आफूले बैंकलाई नाफामुखी दिशामा उभ्याउन सफल भएको बताएका छन् ।

एक वर्षे कार्यकाल : ‘तरलता र संकटबाट सुधारतर्फ’

अध्यक्ष गिरीका अनुसार नेतृत्व सम्हाल्दा सहकारी बैंकभित्र तरलता समस्यासहित नकारात्मक धारणा हावी थियो । घाटामा पुगेको बैंक, कमजोर आन्तरिक व्यवस्थापन र पुँजीकोष अभावका कारण चुनौतीपूर्ण अवस्था रहेको उल्लेख गर्दै उनले भने, “त्यो बेला र अहिलेको अवस्था पूरै फरक भइसकेको छ । हामी अब नाफामा जाने अवस्थामा छौँ । अर्को वर्ष बैंक नाफामा पुग्छ ।”

गत वर्षभरि सदस्य संस्था र कर्मचारीको मनोबल पुनस्र्थापना, आन्तरिक व्यवस्थापन सुधार, भाखा नाघेका ऋण संकलन तथा ५ अर्बभन्दा बढी प्रोभिजनसहित बैंकलाई स्थिर बनाउने काम भएको गिरी बताउँछन् । उनका अनुसार सहकारी बैंकलाई अभियानजस्तो मोडबाट पूर्ण व्यावसायिक मोडमा लैजानु आफैँ ठूलो उपलब्धि हो ।


बैंकको कमजोरी र पुराना समस्या
अध्यक्ष गिरीले बैंक भित्र राजनीति हावी हुनु, ठूला सहकारी तथा काठमाडौँ–केन्द्रित घरजग्गा कारोबारमै केन्द्रित ऋण लगानी हुनु, सहकारीको वास्तविक उद्देश्यभन्दा बाहिर गएर प्राइभेट लिमिटेड कम्पनीझैँ सञ्चालन हुनुजस्ता कमजोरीले संकट बढाएको बताए ।
२५ भन्दा बढी सहकारीमा झन्डै ५ अर्ब लगानी उठ्न नसकेको, कर्मचारीको मनोबल कमजोर रहेको र कानुनी विवाद बढेको अवस्थाबाट अब बैंक बाहिरिएको उनको दाबी छ । “६८ मुद्दामध्ये ६४ विजय भएका छौँ । गैर–बैंकिङ सम्पत्ति बेचेर सुधारतर्फ लगेका छौँ,” गिरीले भने ।
तरलता व्यवस्थापनतर्फ ‘सानो ऋण’ मा ध्यान
गिरीका अनुसार सहकारी बैंकका १६ हजार सदस्य संस्थामध्ये १४ सयले मात्र ऋण लिएका छन्, जसले बैंकको स्वास्थ्यमा असर गरेको छ । अब साना–साना ऋणलाई प्राथमिकता दिने, दीर्घकालीन बचत बढाउने र ग्रामीण–कृषि क्षेत्रलाई जोडेर ऋण प्रवाह विस्तार गर्ने मोडेल लागू गरिएको उनले बताए ।
प्रदेश सरकारसँग सहुलियत ब्याजदर कार्यक्रम, उद्यमशीलता विकास, सदस्य स्तरीकरण, वित्तीय साक्षरता कार्यक्रमलाई बैंकले नयाँ आधारका रूपमा अघि सारिरहेको छ ।
ठूला सहकारीहरू किन धरासायी भए ?
अध्यक्ष गिरीका अनुसार सहकारी बैंक बन्न खोज्ने, विशाल ऋण लगानी गर्ने र समुदायसँग विसंगत मोडेल अख्तियार गर्ने सहकारीहरू नै समस्यामा परे । “सहकारी प्राइभेट कम्पनीजस्तो चल्यो भने संकट आउँछ । समुदायमा आधारित, सानो बचत–सानो ऋण मोडेल नै सही हो,” उनले भने ।
नयाँ नेतृत्वबारे गिरी : ‘मैले नउठ्ने मनसाय बनाएको छु’
राष्ट्रिय सहकारी बैंकको आगामी साधारण सभा मङ्सिर ६ गते हुँदैछ भने नयाँ नेतृत्व पुस १२ गते सातै प्रदेशमा हुने निर्वाचनमार्फत चयन हुनेछ । आफू पुनः नेतृत्वमा नउठ्ने संकेत गर्दै गिरीले भने, “म धेरै समय एउटै ठाउँमा बस्न चाहन्न । अब नयाँ टिम आएर बैंकलाई सफलतर्फ लैजाओस् ।”
अपूर्ण काम र आगामी नेतृत्वका लागि सुझाव
गिरीका अनुसार सहकारी बैंकका लागि २५ बुँदे कार्यदिशा तयार गरिसकिएको छ । वैदेशिक कोष, सहुलियत ऋण, इम्प्याक्ट फन्ड, उद्यमशीलता विस्तारजस्ता योजनामा आफूले काम सुरु गरे पनि पूरा गर्न नसकेको बताए । नयाँ नेतृत्वले यी योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनले सुझाएका छन् ।
बैंकलाई अझ उचाइमा पु¥याउन के आवश्यक ?
गिरी भन्छन्—
पुँजीकोष वृद्धि प्राथमिकता
६० प्रतिशत रहेको तरलता साना–साना सुरक्षित ऋणमार्फत परिचालन
खर्च नियन्त्रण र मितव्ययी नेतृत्व
उत्पादनशील शाखा मात्र राख्ने
व्यावसायिक, स्वार्थरहित नेतृत्व चयन
तीन दशकको सहकारी अनुभव : ‘सहकारी नेपालका लागि अपरिहार्य’
३० वर्षदेखि सहकारी क्षेत्रमा सक्रिय गिरीले सहकारीको आवश्यकता अझै बढेको बताए । समुदायमा आधारित मोडेल सही रूपमा सञ्चालन भए सहकारीहरू संकटमा नपर्ने उनको अनुभव छ । आफ्नो सहारा सहकारी पनि सानो ऋण–बचत मोडेलमै हुँदा अहिले ६ अर्ब जति तरलता रहेको उनले उल्लेख गरे ।
गिरीले सरकारलाई सहकारीमैत्री नीतिहरू बनाउन अनुरोध गर्दै भने,
“सहकारी संस्था विपन्न, मध्यम वर्गका लागि सही मोडेल हो । सहकारी बैंक नयाँ नेतृत्वसँगै अब नमुनायोग्य बैंक बन्न सक्छ । सरकारको सहयोगले यो क्षेत्रमा राम्रो सम्भावना छ ।”

