

विराटनगर- नेकपा(एमाले)का नेता महेश बस्नेत कोसी प्रदेश आएलगत्तै ठाउँठाउँमा विरोध प्रदर्शन भएको छ । उच्च सुरक्षा सतर्कताबीच आइतबार विराटनगर विमानस्थलमा अवतरण गरेका बस्नेत सवार गाडीमा युवाहरूको समूहले रातो मसी छ्यापेर विरोध जनाएका छन् ।

यस्तै, उनी इटहरी जाने क्रममा सुनसरीको दुहबीमा पनि सडकमा टायर बालेर प्रदर्शन गरिएको छ ।

विराटनगर विमानस्थलबाट बाहिर निस्कने क्रममा बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार गाडीमा मसी फ्याँक्ने दुई जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवर छन् ।


जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले थप घटना हुन नदिन र शान्ति सुरक्षाको स्थिति सामान्य राख्न दुई युवालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरूविरुद्ध मुद्दा चलाउनेरनचलाउनेबारे प्रहरीले खुलाएको छैन ।
बस्नेतको विरोधको क्रम सुनसरीको दुहबीसम्म फैलिएको छ । बस्नेत र ढकालको विरोधमा युवाहरूले कोसी राजमार्गअन्तर्गत दुहबी खण्डमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार, दुहबीमा टायर बालेर विरोध गरिए पनि बस्नेत सवार गाडीलाई भने कुनै अवरोध भएन । बस्नेतको गाडी इटहरी पुगिसकेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ कार्यक्रममा सहभागी हुन बस्नेत र ढकाल इटहरी आएका हुन् ।
कार्यक्रम स्थल इटहरीको लायन्स क्लब अफ इटहरीको सभाहल आसपासको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बस्नेतको भ्रमण गोप्य राखिए पनि विमानस्थल र राजमार्गमा विरोधका घटना भएका छन् ।

