झापा। अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँईसहित चम्लागाँई परिवारले झापाका दुई वृद्धाश्रममा पुगेर १०९ जना वृद्धवृद्धालाई भोजन तथा न्यानो कपडाको सहयोग प्रदान गरेका छन् ।

शनिबार साँझ मेचीनगर–९, बाहुण्डाँगीस्थित मानवसेवा आश्रममा पुगेको परिवारले ७१ जना वृद्धवृद्धालाई आफ्नै हातले खाना खुवाएको थियो । जाडो मौसमलाई ध्यानमा राख्दै स्वेटर, ज्याकेट लगायतका न्यानो कपडाको वितरणसमेत गरिएको थियो । भोजनबापतको नगद रकम परिवारका तर्फबाट आश्रमका व्यवस्थापक खगेन्द्र विश्वकर्मालाई हस्तान्तरण गरिएको थियो ।
सहयोग अवसर पाएकोमा परिवारले धन्यवाद व्यक्त गर्दै मानवसेवा आश्रमको सुव्यवस्थित व्यवस्थापनको प्रशंसा गरेका थिए ।

यस्तै, बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)मा बसोबास गर्ने ३८ जना वृद्धवृद्धाको साँझको खानाबापतको रकम पनि चम्लागाँई परिवारले हस्तान्तरण गरेको छ । त्यहाँ रहेका वृद्धवृद्धाको हेरचाहमा आवश्यक पर्ने तातोपानी व्यवस्थापनका लागि सात थान ग्यास सिलिण्डरसमेत प्रदान गरिएको केन्द्रका सचिव बेनुप्रसाद भट्टराईले बताए । खाना तथा ग्यास भर्ने खर्चसमेत परिवारले नै उपलब्ध गराएको हो ।

बाह्रदशी–७, डाँगीबारीका लोकनाथ चम्लागाँई, डिकुरादेवी चम्लागाँई, प्रेम चम्लागाँई, महेन्द्र चम्लागाँई, कञ्चन चम्लागाँई, कामाक्षा चम्लागाँई, दुर्गा चम्लागाँई, बेदकुमारी चम्लागाँई लगायतका सदस्यहरूको सक्रिय सहभागितामा दुवै वृद्धाश्रममा आवश्यकता अनुसार सहयोग हस्तान्तरण गरिएको थियो ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष तथा नेपाली व्यवसायी संघ कतारका अध्यक्षसमेत रहेका महेन्द्र चम्लागाँईको परिवार हाल कतारमा बस्दै आएको बताइएको छ ।

