Aamsanchar

ट्वान्टी- २० विश्वकप : नेपालका प्रतिद्वन्द्वी वेष्ट इण्डिज, इंग्ल्याण्ड, बंगलादेश र इटली

Author Image
बुधवार, मंसिर ११, २०८२

काठमाडौँ –  नेपाल ट्वान्टी- २० विश्वकप क्रिकेटको समूह सीमा परेको छ। विश्वकपमा आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदैछ। मंगलबार भारतको मुम्बईमा समूह विभाजनसहित सार्वजनिक गरिएको​ खेलतालिकामा नेपाल कठिन समूहमा परेको हो।

नेपाल रहेको समूह ‘सी’ मा दुई पटकका विश्व विजेता वेस्ट इण्डिज, एक पटकको विजेता इंग्ल्याण्ड, बंगलादेश र इटाली परेको छ। नेपालका लागि बंगलादेश र वेष्टइण्डिज परिचित टिम भएपनि इंग्ल्याण्ड र इटली भने नौला टिम हुन्।

नेपालले इटली र इगल्याण्ड दुवैसँग पहिलो पटक खेल्ने छ। तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले गत सेप्टेम्बरमा दुबईको शारजहाँमा भएको ३ खेलको शृंखलामा वेस्ट इण्डिजलाई २–१ ले पराजित गरेको थियो।

बंगलादेशसँग नेपालले लगातार तेस्रो पटक विश्वकपमै खेल्न लागेको हो। बंगलादेशमा २०१४ को विश्वकपमा तथा अमेरिका र वेस्ट इण्डिजमा भएको अघिल्लो संस्करणको ट्वान्टी-२० विश्वकपमा पनि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो। तर नेपाल दुवैमा पराजित रहेको थियो। इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ। युरोप क्षेत्रको छनोटबाट स्कटल्याण्ड लाई उछिन्दै नेदरल्याण्ड्स र इटली विश्वकपमा पुगेका हुन्।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। ती समूहबाट शीर्ष दुई टोली ‘सुपर एट’मा पुग्ने छन्। सुपर एट दुई समूहमा विभाजन गरिएको छ र त्यसबाट समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्।

नेपाल र इंग्ल्याण्डबीचको खेल माघ २५ गते दिउँसो ३ बजे हुनेछ। यस्तै नेपाल र इटालीबीच माघ २९ दिउँसो ३ बजे तथा नेपाल र वेस्ट इण्डिजबीचको खेल फागुन ३ बिहान ११ बजे, मुम्बईमा हुनेछ। यसैगरी नेपाल र बंगलादेश, फागुन ५ गते राति ७ बजे, मुम्बईमा हुनेछ।

नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जित्दै विश्वकपमा स्थान बनाएको थियो अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जितेर च्याम्पियन बनेको हो।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो। कुवेत समूहमा पुछारमा रहदै बाहिरियो। समूह चरणबाट जापानसँगको जितको २ अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईसँग १ रनको रोमाञ्चक जित निकाल्यो।

दोस्रो खेलमा कतारविरुद्ध ५ रनको जित निकालेपछि नेपाल विश्वकपमा छनोट हुने लगभग पक्का भइसकेको थियो। सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले उपाधिसँगै छनोटको टिकट पनि काट्यो।

एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटबाट नेपालसँगै यूएई र ओमानले टी- २० विश्वकपमा स्थान बनाएका हुन्।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर