

काठमाडौँ – जेनजी प्रदर्शन हुँदा प्रहरी कार्यालयबाट चोरेको हतियार देखाएर लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ मा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आगजनी गर्दै लुटेको दुई थान पेस्तोल सहित ३ जना काठमाडौँबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका २५ वर्षीय निकेश बिक, सोही ठाउँ घर भएर बागबजार बस्ने २५ वर्षीय सुरज बिक र बागलुङको ढोरपाटन घर भएर भृकुटीमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैरे छन् ।
आरोपीहरूले लुटेको दुई थान पेस्तोल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

निकेश र सुरजले मंसिर ५ बिहान २ बजेतिर बागबजारमा भोज डिलको फुड डेलिभरी गर्ने युवक निरज चौधरीलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीका अनुसार उनीहरुले चौधरीलाई पेस्तोल देखाउँदै नगद र मोबाइल लुटपाट गरेका हुन् ।
फुड डेलिभरी गर्ने युवकलाई लुटपाट गर्दा बालकृष्ण गैरे सँगै थिएनन् । तर, जेनजी प्रदर्शन हुँदा हतियार लुट्ने काममा उनी समेत संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
प्रहरीको सिआरएस रेकर्ड अनुसार निकेश बिक आपराधिक विश्वासघात ‘एक्सटर्सन’ र चोरी सम्बन्धी कसुरमा फरार देखिएका छन् ।

