Aamsanchar

देशभरका पत्रकारलाई अबदेखि सामाजिक सुरक्षाको दायरामा ल्याईने

Author Image
बिहिवार, मंसिर १२, २०८२

काठमाडौँ – पत्रकारहरू अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन्।

बिहीवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिइएको हो। कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र संस्था, राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रशारण (पीएसपी) अन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजन, साथै प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई सामाजिक सुरक्षामा जोड्ने काम शुरु भइसकेको बताए।

उनले अब देशभरका पत्रकार, सञ्चारकर्मी र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू सामाजिक सुरक्षाको औपचारिक दायरामा प्रवेश गर्ने बताए। आगामी दिनमा सबै सञ्चारकर्मीलाई प्रणालीगत रूपमा सामाजिक सुरक्षामा समावेश गर्ने विस्तृत कार्ययोजना कार्यान्वयन गरिने उनले बताए।

मन्त्री खरेलले पत्रकारको पेशागत सुरक्षासँगै आर्थिक तथा सामाजिक सुरक्षालाई सरकारका प्राथमिक एजेण्डामध्ये एक बनाइएकाले यो कदम महत्त्वपूर्ण भएको बताए।

मन्त्री खरेलले भने,‘आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सञ्चार मन्त्रालयका मातहतका निकायहरू खासगरी अब गोरखापत्र संस्था, रासस, सार्वजनिक सेवा प्रसारण (पीएसपी) अन्तर्गतको रेडियो नेपाल, नेपाल टेलिभिजन र त्यस्तै गरेर प्रेस काउन्सिल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा आजबाट प्रारम्भ हुने गरी हामीले काम शुरु गरेका छौँ। सामाजिक सुरक्षाकोष र यी निकायबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ।’

उनले निजी सञ्चारमाध्यमहरूलाई उत्साहित हुँदै सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरे।

Views: 74

प्रतिक्रिया (०)