Aamsanchar

धरानमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु

Author Image
शुक्रवार, मंसिर १३, २०८२

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीवार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले रोडको साइडमा रोकी राखिएको प्र १–०२–००१ ख ८७५७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी तिनकुनेबाट प्रहारी हवलदार प्रेम कुमार सार्कीको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक, सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय मन्जिल लिम्बु गम्भीर घाइते भएका थिए। उनको हात अनुहारमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो। त्यस्तै, मोटरसाइकल पछाडि सवार धरान–५ बस्ने ३२ वर्षीय अमित राईको टाउकोमा चोट लागेको छ।

उपचारका क्रममा करिब शुक्रबार बिहान मोटरसाइकल चालक मन्जिल लिम्बुको मृत्यु भएको अस्पतालले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईले बताए। दुर्घटनामा संलग्न ट्रकका चालक, तेह्रथुम फेदाप गाउँपालिका–२ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लिम्बुको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

Views: 332

प्रतिक्रिया (०)

सम्बन्धित खबर