

सप्तरी- खडक नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। वडा नं.११ बनौलीस्थित हुलाकी सडकखण्डमा प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ट्र्याक्टर चालक ४२ वर्षीय दीपेन्द्र पासवानको मृत्यु भएको हो ।

आइतबार राति खडक ११ स्थित हुलाकी सडकखण्डमा रोडको साइडमा नम्बर नखुलेको ट्र्याक्टरमा पछाडि थ्रेसर जोडेर धान दाइँ गरिरहेका वेला सडकमा उभिरहेको अवस्थामा बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले पासवानलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो। त्यहीँ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायबा उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।


घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-१२ अर्नाहाचौकका २८ वर्षीय रामचन्द्र चौधरी घाइते भएका छन्।

