Aamsanchar

आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा हुँदै

Author Image
मङ्गलवार, मंसिर १७, २०८२

इन्डोनेसिया- जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा हुँदै छ ।

स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेई फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ ।

चाइनिज ताइपेई फिफा वरीयतामा ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा छ ।

सन् १९७७ मा अन्तर्राष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेईले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो ।

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको थियो ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेई नेपालभन्दा बलियो टोली भए पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्ने विश्वास व्यक्त गरे ।

उनले इन्डोनेसियाविरुद्धको अघिल्लो खेलमा फिनिसिङ कमजोर देखिए पनि चिनियाँ ताइपेईविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, “हामी सुधारिएको खेल प्रदर्शन गर्दै जीतको लक्ष्यसहित मैदानमा उत्रनेछौँ । राम्रो संगठनमा खेल्न सक्यौँ भने चाइनजि ताइपेलाई हराएर प्रतियोगिताको समापन सकारात्मक गर्नेछौँ । हामीले जित निकाल्छौँ भन्ने विश्वास छ ।”

मुख्य प्रशिक्षक न्यौपानेले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको हुँदा ‘इन्जुड’ खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिइने र आवश्यक परे सबैलाई मैदानमा उतार्न सकिने बताए ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताइन् । उनले भनिन्, “हामी राम्रो खेल्छौँ । सबै खेलाडी ‘फिजिकली’ र ‘मेन्टली’ तयार भएकाले मैदानमा शतप्रतिशत खेल्नेछौँ ।

यस सिरिजअन्तर्गत यही मंसिर १० गते भएको इन्डोनेसियाविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको थियो । सो खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो । यता, चिनियाँ ताइपेईले भने इन्डोनेसियामाथि ५–० गोलको जित निकालेको थियो ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर