Aamsanchar

ट्राफिक प्रहरी कार्यालय अगाडि ट्रक चालकहरूको धर्ना

Author Image
बुधवार, मंसिर १८, २०८२

बारा – बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापनको मूल गेट अगाडि सवारी चालकहरू धर्नामा बसेका छन् ।

मंगलबारबाट मधेश प्रदेशका जिल्लाहरूमा ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुस्ख दिन सुरु गरेको आरोप लगाउँदै चालकहरूले बुधबार दिउँसोदेखि ट्राफिक प्रहरी पथलैयास्थित कार्यालय अगाडि धर्ना दिएका हुन् ।

चालकहरू धर्नामा बसेपछि बुधबार दिउँसोसम्म पथलैयामा मात्रै डेढसय बढी गाडीहरू सडकमा रोकिएका छन् ।चालकहरू धर्नामा बसेपछि बुधबार दिउँसोसम्म पथलैयामा मात्रै डेढसय बढी गाडीहरू सडकमा रोकिएका छन् ।
बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि पराल तथा भुस बोकेका गाडीहरू रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।तराईका जिल्लाबाट पराल तथा भु्स बोकेर हेटौंडा, चितवन, धादिङ, काठमाडौं, पोखरा लगायतका स्थानमा जान लागेका गाडीहरू सडकमै रोकेर चालकहरू धर्नामा बसेका छन् ।
अहिले तराईबाट पराल तथा भुस ढुवानीको सिजनका बेला गाडीहरूलाई प्रहरीले ओभरलोडको बहानामा अनावश्यक दुस्ख दिने गरेको आरोप चालकहरूको छ ।

ट्राफिक प्रहरीका विरुद्ध धर्नामा बसेकाहरूले किसानका उत्पादन बोक्ने सवारीलाई सहुलियत प्रदान गर्नुको सट्टा उल्टै दुस्ख दिने मनसाय ट्राफिक प्रहरीले राखेको गुनासो गरेका छन् ।

नेपाल च्याउ उत्पादक किसान संघका केन्द्रिय अध्यक्ष सन्तोष कार्कीले पशुपालन तथा च्याउ खेती गर्ने किसानले पराल स्टक गर्ने बेला ट्राफिक प्रहरीले अवरोध सिर्जना गर्दा आफूहरू मारमा परेको बताए ।

‘ट्राफिकले गाडी रोकेको पहिलो पटक होइन, रोक्ने मिलाउने भइरहन्छ, अहिले मुख्य सिजनमा फेरि उहाँहरूले अवरोध सिर्जना गरिदिँदा हामी मारमा परेका छौं,’ अध्यक्ष कार्कीले भने ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालले ‘भब्बर’ लोडका कारण राजमार्गमा हुनसक्ने क्षति र दुर्घटनाको जोखिम कम गर्न आफूहरू सक्रिय भएको बताए ।

 

‘ओभर मात्र होइन भब्बर लोड बोकेका यस्ता गाडीका कारण राजमार्गमा थुप्रै जोखिम बढिरहेका छन्,’ एसपी सिलवालले भने ।

वजनका हिसाबले कम भए पनि पराल तथा भुस बोकेका गाडीहरूले ट्रयाक्टर तथा ट्रकको मालसामान राख्ने भागभन्दा धेरै माथिसम्म सामान राखी ढुवानी गर्ने गरेकाले राजमार्गमा जोखिम बढेको एसपी सिलवालको भनाइ छ ।

 

 

 

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर