Aamsanchar

हत्या अभियाेगमा जेलमा परेपछि तत्कालीन हवल्दार सितासँग निकट सम्बन्ध, छुटेपछि उनकै हत्या

Author Image
शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं –व्यक्ति हत्यामा दोषी ठहर भएर कारागार पुगेका व्यक्तिले छुटेपछि फेरि अर्को हत्या गरेको खुलेको छ ।

हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको छ । उनले पूर्वप्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको हत्या गरेको सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

३१ चैत २०८१ मा लमजुङको बेसिशहर नगरपालिका–२ भकुण्डेको एक घरमा दुर्घन्ध आएको भन्दै प्रहरीमा खबर भएको थियो । बाहिरबाट ताला लागेको उक्त घरको ढोका प्रहरीले फोडेर हेर्दा भित्र महिलाको शव भेटिएको थियो ।

आफू सुत्ने बक्स पलङको मुनि त्रिपालले बेरेर राखिएको अवस्थामा कँडेलको शव भेटिएको थियो । हत्या गरेर बक्स पलङ मुनि लुकाएको पाइएपछि अनुसन्धानका लागि सीआईबीको टोली समेत परिचालन भएको थियो । सो क्रममा हत्यामा बुद्धिरामको संलग्नता खुलेको थियो ।

८ महिनादेखि फरार उनै बुद्धिरामलाई सीआईबीले रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको छ ।

अनुसन्धानको क्रममा बुद्धिराम यसअघि पनि व्यक्ति हत्या गरेर जेल बसेको व्यक्ति रहेको खुलेको छ । यसअघि विवाहको विषयमा विवाद हुँदा गोरखाको साविक फिनाम गाविस–५ कि ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए । उनकी छोरी सम्झना पाण्डेसँग विवाहको कुरामा विवाद भएपछि आमाको हत्या बुद्धिरामले गरेका थिए ।

यो घटनामा उनी कारागार चलान भएका थिए । भीमफेदी कारागारमा रहँदा त्यहाँको सुरक्षामा खटिएका हवल्दार (हाल मृत) सीतासँग बुद्धिरामको चिनजान र निकट सम्बन्ध रहेको थियो । पछि जेलबाट छुटेपछि उनै बुद्धिरामले अवकाश भएकी पूर्व हवल्दार कँडेलको हत्या गरेको सीआईबीले बताएको छ ।

Views: 405

प्रतिक्रिया (०)

सम्बन्धित खबर