झापा, मंसिर २० ।
जसरी देशको राजनीति, शिक्षा र रोजगारीको बहसमा युवाको आवाज बढ्दै गएको छ, त्यस्तै आर्थिक दिशानिर्देशनबारे राष्ट्रिय स्तरको गहिरो संवाद पहिलोपटक झापामै आयाजना भयो । ‘संकटपछिको देशको अर्थतन्त्र : अवसर र चुनौती’ शीर्षकको यो कार्यक्रमलाई युवा पुस्ताले भविष्यको रोडम्याप खोज्ने एउटा सकारात्मक प्लेटफर्मका रूपमा हेरे ।
वीरता जेसीजको आयोजनामा बिर्तामोडमा गरिएको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको आर्थिक अवस्था झनै जटिल बन्दै गएको उल्लेख गर्दै भने, “राजश्व संकलन कमजोर हुँदा अहिले सरकार सामान्य खर्च धान्न पनि ऋण लिन बाध्य छ।”
उनका अनुसार अराजक क्रियाकलाप बढ्दा निजी क्षेत्र लगानी गर्न हिच्किचाइरहेको र सुरक्षा ग्यारेन्टीको अभावले आर्थिक गतिविधि मन्द भएको छ।

राजनीतिक अस्थिरता नै मूल समस्या : विशेषज्ञहरूको निष्कर्ष
कार्यक्रममा नबिल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवालीले राजनीतिक अस्थिरताकै कारण अर्थतन्त्रले गति लिन नसकेको र नकारात्मक सोच हाबी हुँदा नागरिकको आत्मविश्वास कमजोर बन्दै गएको बताए।

वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यषतामा आयोजित औपचारिक सत्रपछि गरिएको राष्ट्रियस्तरीय प्यानल डिस्कसनमा पत्रकार राजेन्द्र वानियाको सहजीकरणमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अर्थतन्त्रका आधारभूत सूचकदेखि तत्काल समाधानयोग्य क्षेत्रसम्मका विषयमा गहिरो विश्लेषण राखे।


झापाको पहिचानसँग युवा उर्जा जोड्ने प्रयास
कार्यक्रममा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले मन्तव्य राखेका थिए । पहिलो पत्रमा स्वागत गर्दै संयोजक भुपेन्द्र भण्डारीले झापा अब केवल औद्योगिक सम्भावनाको केन्द्र मात्र नभई राष्ट्रिय बहसको केन्द्र बन्न थालेको बताए ।
आस्था वाचन वीरता जेसीजका कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ ‘एलसी’ले प्रस्तुत गरे भने खेलकुद संयोजक विवेक खड्काले ‘मिसन–भिजन’ प्रस्तुत गरे।
स्थानीय तहदेखि सुरक्षा निकाय र व्यापारिक समुदायसम्मको उल्लेख्य सहभागिताले कार्यक्रमलाई झापामा हालसम्मकै सबैभन्दा व्यवस्थित र प्रभावकारी राष्ट्रिय आर्थिक संवादको रूप दिएको सहभागीहरूको भनाइ छ ।
उच्च सहभागिता : झापामा राष्ट्रिय कार्यक्रमको नयाँ क्षण
कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देन, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, विभिन्न सुरक्षा निकायका प्रमुख, बैंक तथा उद्योग क्षेत्रका शीर्ष प्रतिनिधि, जेसीज पूर्व अध्यक्ष, समाजसेवी तथा युवा व्यवसायीको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले गरेका थिए।

