

काठमाडौँ – गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाबारे सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एकजना सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ।


समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ। घटनाका सम्बन्धमा छानबिन गर्न प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन्।
प्रधानमन्त्री कार्कीले उनीहरूको उक्त घटना समाज र राज्यका लागि ग्लानिको विषय भएको भन्दै उनले माफी मागेकी थिइन्।

