

सुनसरी – सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिणामको प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लामा सञ्चालन गरिएको विशेष चेकजाँच तथा प्रहरी अपरेसनका क्रममा ठूलो परिमाणका गाँजा र प्रतिबन्धित औषधसहित उनीहरू पक्राउ परेका हुन्।

शनिबार राति धरान उपमहानगरपालिका–१ कृषि बजार नजिकको साफिर ग्यारेजमा प्रहरीले छापा मार्दा मे १ ज २०१८ नम्बरको बोलेरो गाडीमा लुकाइ–छिपाइ राखिएको १४९ किलोग्राम गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले बताए। उक्त गाँजा ग्यारेजमा अनलोड भइरहेका बेला धनकुटा साँगुरीगढी–४ का इन्द्र कुमार लिम्बु, शहीदभूमि गाउँपालिका–४ का जिबसन राई र भारत उत्तरदिनाथपुरका साबिर आलमलाई पक्राउ गरिएको उनले बताए। गाँजा लोड गर्ने गाडी चालक भने घटनास्थलबाट फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै धरान उपमहानगरपालिका–५ र १५ बाट अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट खटिएको टोलीले रातिको चेकजाँचका क्रममा प्रतिबन्धित लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। धरान–५ का जितेन्द्र राई र धनकुटा साँगुरीगढी–७ का जीवन राईको साथबाट ७०/७० गरी १४० ट्याब्लेट ट्रामाडोल र स्पास्मो बरामद गरिएको प्रहरी निरीक्षक कुँवरले बताए। त्यस्तै धरान–५ का भलराम श्रेष्ठ र धरान–१५ का समिर सुनामको साथबाट ४००/४०० गरी ८०० ट्याब्लेट ट्रामाडोल र डिकोलिक बरामद गरिएको प्रहरीले जनाएको छ।


सुनसरीकै हरिनगर गाउँपालिका–२ भुटाहाबाट चेकजाँचका क्रममा सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका सबैको विरुद्धमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

