Aamsanchar

बुढी खोलाको पुलमुनि तेल उद्योगका मजदुर मृत फेला

Author Image
सोमवार, मंसिर २२, २०८२

विराटनगर – मोरङको बुढीगंगा र सुनसरी दुहबीको सिमाना भएर बग्ने बुढी खोलाको पुलमुनि तेल उद्योगका मजदुर मृत फेला परेका छन् । सोमबार बिहान ८ बजेतिर शव फेला परेको हो ।

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बुढीगंगा गाउँपालिका–५ स्थित बुढी खोलामाथि बन्दै गरेको नयाँ पक्की पुल र पुरानो पुलबीचको खाली ठाउँमा शव भेटिएको जानकारी दिए ।

उनका अनुसार मृत फेल परेका व्यक्ति भारतको कोलकाता घर भइ विगत १०–१५ वर्षदेखि बुढीगंगा–५ मा बस्दै आएका ५० वर्षीय मोहमद अली अन्सारी हुन् । अन्सारी बुढीगंगा–५ स्थित स्वस्तिक तेल उद्योगमा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।

घोप्टो परेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्मार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।

शवको सनाखत मृतककै पत्नी कुर्नी खातुनले गरिदिएको प्रहरीले जनाएको छ । तेल फ्याक्ट्रीमा काम गर्ने मजदुर कसरी पुलमुनि मृत फेला परेका हुन् भन्ने यकिन हुन बाँकी रहेको डीएसपी चौधरीले बताए । मादक पदार्थ सेवन (मापसे) गरेर हिँड्ने क्रममा पुलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

´मृत्युको कारण पत्ता लाग्न बाँकी छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएर थप अनुसन्धान अघि बढाएपछि यथार्थ पत्ता लाग्छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भरहेको छ,`डीएसपी चौधरी भन्छन् । उनका अनुसार तत्काल हेर्दा मृत्यु शंकास्पद देखिएको छैन ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर