Aamsanchar

प्रतिनिधिसभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने भारतको प्रतिबद्धता

Author Image
मङ्गलवार, मंसिर २४, २०८२

काठमाण्डौ – आउँदो प्रतिनिधिसभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न गर्न भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गर्नुभएको शिष्टाचार भेटमा महावरले चुनावका लागि आवश्यक स्रोत साधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव महावर नेपाल भ्रमणको सिलसिलामा अस्ति आइतवार काठमाण्डौ आउनुभएको हो । उहाँले जाजरकोटमा भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो । सीमा क्षेत्रमा अपराधका घटना रोकथाम, चोरी तस्करी, अवैध वस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्री अर्यालले जोड दिनुभएको छ ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर