

काठमाण्डौ – भन्सार एजेन्टको पेनडाउन आज पनि यथावत् छ । हिजो भएको वार्ता सकारात्मक नभएपछि आज पनि पेनडाउन कायमै रहेको हो । यसबाट देशभरका भन्सार कार्यालयमा काम प्रभावित भएको छ । सबैजसो भन्सार कार्यालयमा जाँचपास रोकिँदा राजस्व संकलन प्रभावित हुँदै आएको छ ।

हिजोको वार्तामा सरकारले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा बस्न आग्रह गरेको थियो । तर भन्सार एजेन्ट महासंघले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएको छ । आज पनि सरकार र महासंघबिच वार्ताको प्रयास भैरहेको छ । महासङ्घले केही समयअघि संसदबाट पारित भएको नयाँ भन्सार ऐनका अन्यायपूर्ण प्रावधान संशोधन गर्न माग गर्दै आएको छ ।

महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेले गएको मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानको विरोधमा भन्सार सेवा अवरुद्ध गरेको बताउनुभयो । महासंघकाअनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ ।


पेनडाउन आन्दोलन गएको आइतबार वीरगञ्ज भन्सारबाट शुरू भएको थियो । दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने तेस्रो दिन हिजो पनि देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरु बन्द गरिएको थियो ।

