

झापा- झापा–३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस गरिएको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा नवीन विमलीको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिसमा परेका अन्यहरुमा भगिरथ पोद्धार, शर्मिला अधिकारी, टीकाराम ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे र देउपप्रसाद लाबुङको नाम सिफारिस गरिएको छ । छैठौं नम्बरमा सिफारिस गरिएका सिटौला नेता कृष्ण सिटौलाका पुत्र हुन् ।

यस क्षेत्रमा विगतमा नेता सिटौला उठ्दै आएका थिए । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ गत निर्वाचनमा पराजित सिटौलालाई कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको छ ।


झापा–३ मा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ । सुशिला ढकाल , बडाराम हेमरम , लालबहादुर कन्दङ्वा , सीता तामाङ , खड्गप्रसाद राजवंशी , कृष्णकली राजवंशी , हरिकृष्ण घोष , सीता भट्टराई , लता कार्की , उर्मिला गौतम र सेलेतुन खातुनको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले बताए ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि दयानन्द गोस्वामी , ओम सरावगी र प्रेमविक्रम भट्टराईको नाम पठाइएको क्षेत्रीय सभापति पोखरेलले जानकारी दिएका छन् ।

