Aamsanchar

भारतको गोवामा नाइट क्लब आगलागीमा मृत्यु भएका दुई झापाली युवाको शव स्वदेश ल्याइयो

Author Image
बिहिवार, मंसिर २६, २०८२

झापा- भारतको गोवामा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका दुई झापाली युवाको शव स्वदेश ल्याइएको छ। हिजो दिउँसो २ बजे भद्रपुर–५ स्थित मेची पुल हुँदै भद्रपुर ३ गोलेचोकका २० वर्षीय सबिन विक र कचनकवल–२ बालुबारीका २१ वर्षीय सुदिप गुरुङको शव झापा ल्याइएको हो। भारतीय नम्बर डब्लुबी ३७५ एएफ ३१५२ को एम्बुलेन्समार्फत आफन्तलाई शव बुझाइएपछि नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सुदिपको अन्त्येष्टि हिजै सम्पन्न गरिएको र सबिनको अन्त्येष्टि आज गरिने परिवारले जानकारी दिएका छन्। गत शनिबार मध्यरात गोवाको एक व्यस्त नाइट क्लबमा आगलागी हुँदा दुबैको मृत्यु भएको थियो। सुदिप तिहारपछि होटल म्यानेजमेन्ट अध्ययनका लागि गोवा गएका थिए भने सबिन केही वर्षदेखि सोही नाइट क्लबमा सेफका रूपमा कार्यरत थिए। उक्त घटनामा चार नेपालीसहित २५ जनाको मृत्यु भएको भारतीय पक्षले जनाएको छ। अन्य दुई नेपालीको परिचय भने अझै खुल्न सकेको छैन।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर