

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेका हुन् ।

समितिको सदस्यहरूमा केन्द्रीय सदस्य शिव हुमागाईं, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार बिक छन् ।

कांग्रेसको विधानअनुसार वडाहरूबाट वितरण हुने क्रियाशील सदस्यता पालिका निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा आइपुगेपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले छानबिन समितिलाई हस्तान्तरण गर्नेछ ।


छानबिन समितिले सदस्यतामा देखिएका विवाद समाधान गरेपछि पुनः केन्द्रीय सदस्यता व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने प्रावधान छ । केन्द्रीय सदस्यता व्यवस्थापन समिति महामन्त्रीको नेतृत्वमा रहने वैधानिक प्रावधान छ ।
अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा रहेका छन् । महामन्त्री थापा नेतृत्वको समितिले देशभरिबाट आएका क्रियाशील सदस्यहरूको विवरण हस्तान्तरणपछि त्यसमा आउने उजुरी र दाबी विरोधका आधारमा केन्द्रीय सदस्यता छानबिन समितिले सदस्यता सम्बन्धी निर्णय गर्नेछ । यसरी तयार भएको अन्तिम नामावली नेपाली कांग्रेसको वडा तहमा मतदान गर्ने मतदाता नामावलीको रूपमा परिणत हुन्छ ।

