

तनहुँ – भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिए।

नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ।


नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ। भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११० रुपैयाँ, थोक बिक्री मूल्य प्रतिलिटर १२० रुपैयाँ र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० रुपैयाँ तोकिएको छ ।
यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य ११५, थोक बिक्री मूल्य १३० र खुद्रा बिक्री मूल्य १४० रुपैयाँ निर्धारण भएको छ ।

