

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले वास्तविक माओवादी आफूहरू नै रहेको दाबी गरेका छन्।

बागमती प्रदेश कमिटीको आयोजनामा बिहीवार भएको कार्यक्रममा उनले असली माओवादी आफूहरू भएपनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताएका हुन्। उनले जनयुद्धका प्रतिनिधि र मार्क्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफुहरू भएको जिकिर गरे।

११ वर्षको संघर्ष पछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उनको भनाई छ। गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरु पार्टीहरूसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको बताए। दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको उनको आरोप छ। उनले माओवादीलाई समाप्त पार्ने डिजाइन भएको बुझेर नै माओवादीलाई आफूहरूले पुनः ब्राण्डिङ गर्न लागेको बताए।


माओवादी देशको विचारधारात्मक शक्ति, ब्राण्ड, नेपाली श्रमिक जनताको धड्कन भएको उनको भनाई छ। नेपाली जनताको मनमनमा माओवादी, माओवादीको जनयुद्ध र विचार भएको दाबी गरे। माओवादीको नाम निशाना नराख्ने साम्राज्यवादीहरूको डिजाइनलाई असफल भएको उनको भनाई छ।
उनले वर्तमान सरकारलाई अमेरिकी साम्राज्यवादको कठपुतली भएको आरोप पनि लगाए। जेनजी आन्दोलनलाई साम्राज्यवादी शक्तिहरूले हडप्न खोजेको उल्लेख गर्दै उनले त्यसलाई माओवादीले सफल हुन नदिने बताए।

