Aamsanchar

इलामको ऐतिहासिक ४१ किमि निशान पदमार्गमा यस वर्ष चारदिने पदयात्रा हुने

Author Image
बिहिवार, मंसिर २५, २०८२

इलाम- इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा यस वर्ष पनि पदयात्रा गरिने भएको छ । नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा आगामी पुस २३ गतेदेखि २६ गतेसम्म पदयात्रा गर्ने गरी तयारी सुरु भएको हो ।

नेपाली सेनाको रणशार्दूल गणको पहल तथा सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको समन्वयमा पदमार्ग पहिचान गरी गत वर्ष पुस २४ गतेदेखि तीनदिने पदयात्रा गरिएको थियो ।

तीन दिनमा पदयात्रा गर्न कठिनाइ भएपछि यस वर्ष चार दिनको पदयात्राको कार्यक्रम तय गर्ने गरी कार्यक्रम बनाइएको रणशार्दूल गण इलामका प्रमुख प्रह्लाद घलेले जानकारी दिनुभयो । जसमा पहिलो दिन मेची बजारमा पदयात्राको उद्घाटन गरी सूर्योदय ९ को रम्फोकमा बास बस्ने, दोस्रो दिन पहिलो पटक निशान राखिएको पूर्णे डाँडासम्म यात्रा गरी उक्त स्थानमा बास बस्ने, तेस्रो दिन माईजोगमाईको नामसालिङस्थित हात्तीटारसम्मको यात्रा गरी बास बस्ने र चौथो दिन इलाम नगरपालिकाको माईस्थानसम्म पदयात्रा गरी कार्यक्रम समापन गर्ने जनाइएको छ ।

नेपाली सेनाको रणशार्दूल गण इलाममा भएको पहिलो बैठकमा तीन वटै पालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, नेपाल प्रहरी इलामका प्रमुख एकनारायण कोइराला, सशस्त्र प्रहरी इलामका प्रमुख लोकेन्द्र सुवेदी, उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेल, इतिहासविद् युद्धप्रसाद बैद्य लगायतको सहभागिता थियो ।

छलफलमा पदमार्गलाई वर्षमा एक पटक हिंड्ने मात्र नभई पदमार्गलाई सधैं चलायमान बनाई स्थानीय पर्यटन र व्यवसायमा जोड्न सुझाव दिइएको छ । इतिहासविद् बैद्यले एतिहासिक निशान पदमार्गलाई व्यवस्थित र प्रचारप्रसार गरी पर्यटनमा जोड्न सुझाव दिनुभयो ।

पदयात्रालाई व्यवस्थित गर्नका लागि नेपाली सेनाको संयोजनमा तीनवटै पालिका र स्थानीय सरोकारवाला संलग्न निशान पदमार्ग व्यवस्थापन समिति गठन गर्ने सहमति भएको छ । मङ्सिर २९ गते सूर्योदय नगरपालिकामा जनप्रतिनिधिसहितको दोस्रो बैठक बसी अन्य निर्णय गरिने भएको छ । पुसको पहिलो साता पदमार्गमा सेनाले रेकी गर्ने जनाएको छ ।

गत असोज १८ गतेको बाढी पहिरोले पदमार्गका धेरै ठाउँमा क्षति भएको छ । उक्त पदमार्ग स्थानीय पालिकासँगको समन्वयमा पुनः निर्माणको काम गर्न सेनाले प्रस्ताव गरेको छ । गत वर्षदेखि तीनवटै पालिकाको आर्थिक सहयोगमा पदयात्रा शुरु गरीएको हो । यस वर्ष पनि स्थानीय पालिकाको आर्थिक सहयोगमा पदयात्रा गरिनेछ । कार्यक्रममा पदमार्गमा पर्ने विभिन्न विद्यालयमा कार्यक्रम गर्ने गरी तय गरिने प्रमुख घलेले जानकारी दिनुभयो ।

नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात् तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएपछि गत वर्षबाट औपचारिक रुपमा पदमार्ग सञ्चालनमा आएको थियो ।

भारतको नागरीगडीदेखि, नेपाल भारत सीमा क्षेत्र सात माइल९मेची मुहान०, सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईवेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको जीआईएस नक्सा तयार गरी गत वर्ष नै सार्वजनिक गरिएको थियो । नागरीगढीमा अझै पनि गडी मन्दिर लगायत ऐतिहासिक वस्तु छन् ।

तत्कालीन नेपाल–अङ्ग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । ।त्यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भूभाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनुभएको इतिहास छ ।

पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर