Aamsanchar

जुवान ओनोलीयाको वार्षिक सम्मेलनमा सात साहित्यकार सम्मानित, नेपालबाट शिवु मुर्मुलाई ‘इन्टरनेशनल जुवान अवार्ड’

Author Image
शनिवार, मंसिर २७, २०८२

झापा । भारतको प्रतिष्ठित साहित्यिक संस्था जुवान ओनोलीयाले आयोजना गर्ने वार्षिक सम्मेलनमा यस वर्ष सन्थाली भाषा–साहित्यको विकासमा योगदान पु¥याएका सात साहित्यकारलाई सम्मान गर्ने भएको छ । नेपालबाट झापा बाह्रदशी गाउँपालिका–२, राजगढ निवासी शिवु मुर्मुलाई इन्टरनेशनल जुवान (युवा) अवार्ड प्रदान गरिने भएको हो ।

संस्थाले ११ डिसेम्बर २०२५ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार मुर्मुलाई सन्थाली भाषा, साहित्य र सांस्कृतिक पहिचानको प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको हो । मुर्मु सन् २०१७ देखि सन्थाली मातृभाषामा कविता तथा निबन्ध विधामा सक्रिय छन् । उनले सन्थाली भाषाको आफ्नै लिपि ओल चिकी र नेपाली भाषामा विभिन्न पुस्तक, पत्रपत्रिका तथा सञ्चारमाध्यममा निरन्तर लेखन गर्दै आएका छन् ।

वि.सं. २०७८ मा उनले ओल चिकी लिपिमा लेखिएको सन्थाली भाषालाई नेपाली भाषामा औपचारिक रूपमा अनुवाद गर्ने पहिलो अनुवादकका रूपमा परिचय बनाएका थिए । त्यस्तै, वि.सं. २०७९ देखि नेपालकै पहिलो सन्थाली भाषा ओल चिकी लिपिको चौमासिक साहित्यिक तथा सांस्कृतिक पत्रिका ‘पँड बुरु’ का संस्थापक तथा सम्पादकसमेत हुन् । उनी नेपालबाट सन्थाली विकिपिडियाका सक्रिय सम्पादक पनि हुन् । हाल मुर्मु हल्दीबारी गाउँपालिकामा कर्मचारीका रूपमा कार्यरत छन् ।

जुवान ओनोलीयाको वार्षिक सम्मेलन २७ र २८ डिसेम्बर २०२५ मा भारतको ओडिशा राज्यको बारिपदा शहरमा आयोजना हुनेछ । सम्मेलनमा झारखण्ड, पश्चिम बंगाल, ओडिशा लगायत पूर्वी भारतका विभिन्न राज्यका युवा लेखक, साहित्यप्रेमी तथा शोधकर्ताहरूको सहभागिता रहनेछ ।

जुवान ओनोलीयाका संयोजक शिवलाल मुर्मूका अनुसार सम्मेलनको उद्देश्य युवाहरूलाई साझा बौद्धिक मञ्च उपलब्ध गराउनुका साथै आदिवासी भाषा, संस्कृति र साहित्यलाई कार्यशाला, परिचर्चा तथा साहित्यिक कार्यक्रममार्फत प्रवद्र्धन गर्नु हो ।

यस वर्ष सम्मानित हुने साहित्यकारहरू

जुवान ओनोलीया अवार्ड : मालती हेम्ब

लाइफटाइम एचिभमेन्ट जुवान अवार्ड : चुंडा सोरेन (सिमडेगा)

वुमेन अथोर जुवान अवार्ड : सुचित्रा हांसदा

ट्रान्सजेन्डर जुवान अवार्ड : शिवानी किस्कु (फुलोलिया)

इन्टरनेशनल जुवान अवार्ड : शिवु मुर्मु (नेपाल)

यंग मेम्बर जुवान ओनोलीया अवार्ड : आरसल दुदु (जमशेदपुर)

हाइ वर्किङ मेम्बर जुवान ओनोलीया अवार्ड : हाजाम बारिक (बारिपदा)

Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर