

काठमाडौँ – सडक डिभिजन दाङले घोराही–तुलसीपुर सडक खण्डको दायाँबायाँ गरिएको अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ । डिभिजनले शनिबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सडक सीमाभित्रका अवरोधहरू हटाउन निर्देशन दिएको हो ।सडक डिभिजन दाङका अनुसार हाल उक्त सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । तर, सडक निर्माण क्षेत्रभित्र केन्द्र रेखादेखि १५/१५ मिटर दायाँबायाँ सवारी पार्किङ गर्ने, व्यापारिक तथा निर्माण सामग्रीहरू थुपार्ने, सडक किनारामा खुद्रा व्यापार सञ्चालन गर्ने र अस्थायी संरचनाहरू निर्माण गर्ने जस्ता कार्यले निर्माणमा असहजता सिर्जना गरेको कार्यालयले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘सडक निर्माण कार्य गर्न असहजता हुने भएकोले उल्लेखित क्रियाकलापहरू नगर्नु र नगराउनुहुन तथा गरेको भए १५ दिनभित्र हटाउन यो सूचना प्रकाशन गरिएको छ ।’

तोकिएको १५ दिनको अवधिभित्र सडक सीमा खाली नगरेको पाइएमा सडक डिभिजनले उक्त क्षेत्रका अनधिकृत संरचनाहरू भत्काउने वा हटाउने चेतावनी दिएको छ । साथै, यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने पनि डिभिजनले स्पष्ट पारेको छ ।


