Aamsanchar

मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

Author Image
आइतवार, मंसिर २८, २०८२

मोरङ- मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।

जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । गछिया खोलातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्याक्टरका सहचालक २६ वर्षीय अतीत राई गम्भीर घाइते हुनु भएको थियो । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला मोरङ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, ग्रामथान गाउँपालिका–२, झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको मोटरसाइकलले ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते सरदारलाई विराट नर्सिङ होम लग्नासाथ चिकित्सकले मृत घोषित गरेका हुन् । यसैबिच, धनपालथान गाउँपालिका–४ मा पनि दुई साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत मङ्सिर १२ गते मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ५२ वर्षीय शिवचरण माझीको आइतबार नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिनु भयो ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर