

चितवन – सरकारले हात्तीका दुई वटा छावालाई आउँदो पुस २ गते कतार पठाउने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिमपछि सौरहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डाक्टर हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार्टर्ड कार्गो विमानमार्फत भैरहवा विमानस्थलबाट हात्तीलाई कतार पठाइने छ । हात्ती कतारको दोहामा रहेको अलखोर पार्कको चिडियाखानामा राख्ने तय भएको छ । रुद्रकली ७ वर्ष र खगेन्द्रप्रसाद ६ वर्षका छावा रहेका हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिनुभयो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । त्यही अनुसार प्रक्रिया पूरा गरेर हात्ती पठाउन लागिएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेपालले सन् १९८५ देखि अहिलेसम्म विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ ।

