

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–४ काशीजानमा आगोले पोलेर पति र पत्नी घाइते भएका छन् । प्रहरीका अनुसार घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दम्पती घाइते भएका हुन् । सामान्य अवस्थाका उनीहरूको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

श्यामप्रसाद दासको घरमा आइतबार राति १० बजेतिर लागेको आगो निभाउने क्रममा सुनवर्षी–४ का २६ वर्षीय आवेशकुमार दास र उनकी श्रीमती २३ वर्षीया पूजा दास घाइते भएका छन् । आगोले आवेशको निधार र पूजाको दायाँ हातमा जलेको छ।

आगोले श्यामप्रसादको २ तले कच्ची घरसहित अन्नपात,लत्ताकपडा, भाँडावर्तनलगायत घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको जानकारी प्रहरीले दिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा करिब १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले क्षतिको यकिन विवरण संकलन गरिहेको छ । आगलागीको कारण प्रष्ट हुन सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

