

विराटनगर – नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अध्यक्ष केपी शर्मा ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । ओली समूहले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय समितिका उम्मेदवारको नाम टुङ्गो लगाएको थियो, जसमा खरेल केन्द्रीय समिति सदस्यको लिस्टमा छन् ।

यद्यपि खरेलले आफू केन्द्रीय सदस्यमा नलड्ने घोषणा गरेका छन् । उनले आफू सचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।

अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी र पदाधिकारीको ‘टिम’ मा आफू नपरेको विषयमा प्रतिक्रिया दिँदै खरेलले भने, ‘केन्द्रीय समितिको टिममा होला, त्यो आफ्नो ठाउँमा छ, मलाई त्यसमा केही भन्नु छैन । तर मैले खोजेको पदाधिकारी हो, त्यसमा (अध्यक्षको सूचीमा) नाम छैन । म सचिव पदमा आफ्नो उम्मेदवारी दिन्छु ।’

खरेलले आफू कुनै अर्को समूह वा प्यानलबाट नभई नितान्त स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने स्पष्ट पारेका छन् । अध्यक्ष ओलीको सूची बाहिर रहेका ईश्वर पोखरेललगायतका नेताहरूसँग मिलेर जानुहुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘होइन, म स्वतन्त्र रूपमा दिन्छु । म सबै मतदातासँग सार्वजनिक रूपमा कल गर्छु, भोट माग्छु ।’
उनले महाधिवेशन प्रतिनिधिहरूको विवेकमाथि आफूलाई विश्वास रहेको बताए । ‘उहाँहरूले मत दिने नदिने उहाँहरूको इच्छाको कुरा हो । उहाँहरूको इच्छामा म कुनै अवरोध गर्दिनँ, तर म आफूलाई लागेको काम गर्छु । यो मेरो अधिकार हो,’ खरेलले भने ।
उनले महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने प्रवृत्तिको भने विरोध गरेका छन् । उनले कम्तीमा पनि पदाधिकारी तहमा प्यानल नबनाई स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने आफ्नो धारणा रहेको बताए ।
‘पदाधिकारीमा चाहिँ (प्यानल) नगरेको भए हुन्थ्यो भन्ने रिक्वेस्ट मैले गरेकै हो,’ खरेलले भने, ‘अब गरिसकेपछि एउटाले गरेपछि अर्कोले नि गर्ला, अर्कोले गरेपछि अर्कोले नि गर्ला । जे गर्छन् गरुन् ।’
अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास स्वरूप तयार पारेको सूचीमा नपरेपछि, लोकतान्त्रिक विधि अनुसार चुनाव लड्ने र प्रतिनिधिहरूको म्यान्डेट स्वीकार गर्ने खरेलको तयारी छ । उनले चुनावी नतिजा जस्तो आए पनि आफूले उम्मेदवारी दिएर आफ्नो अधिकार प्रयोग गर्ने दृढता व्यक्त गरेका छन् ।

