Aamsanchar

इन्द्रको दिव्य दृष्टिमा सूक्ष्म दृष्टि

Author Image
सोमवार, मंसिर २९, २०८२

– राजन अधिकारी

मैले चलचित्रहरूमा देखेको थिएँ—भ्रष्ट प्रहरीको मूल आयस्रोत लागूपदार्थ हो, भ्रष्ट शासकको दुहुनो गाई पनि लागूपदार्थ नै हो। तर यो परम्पराको अपवाद पनि भेटिनुभएको छ—इन्द्रप्रसाद ओलीज्यू।

नशालु पदार्थ, लागूपदार्थ। साथीको कुसङ्गतले फसेका छन्—किशोरकिशोरीहरू। लागूपदार्थ मन्द विष हो। देशका भाग्यनिर्माता किशोरकिशोरी र युवायुवती नै लागूपदार्थको नशामा लट्ठ परेपछि अभिभावकका सपना खरानी भइरहेका छन्। सन्तानका लागि सर्वस्व लगानी गरेका आमाबाबुले वृद्धावस्थामा आफ्नै आँसु पिउँदै, असह्य पीडाको आगोमा मुटु सेकाएर बस्नुपरेको छ।
मायाको नक्कली संसारमा गहिरो निद्राले क्षणिक आनन्द दिन्छ; बिउँझनासाथ फेरि छटपटिनुपर्छ। गहिरो निद्राको आशा देखाएर लागूपदार्थले चिरनिद्रामा पार्छ; अकाल मृत्युले सीमान्त पीडा दिएर दार्छ।

सीमित लोभी–पापीहरूले आफ्ना निहित स्वार्थ पूरा गर्न वर्षेनी करोडौँ युवायुवतीलाई मृत्युको बङ्गारामा धकेलिरहेका छन्। करोडौँ बूढाबूढीलाई सन्तान–शोकको भुङ्ग्रामा हुत्याइरहेका छन्। के शहर, के गाउँ—सबैतिर रित्तिँदै गइरहेका छन्।

भगवान् शिवले कालकूट विषले प्राणी–सन्तानलाई अकालमा मार्न नपाओस् भनेर स्वयं विषपान गर्नुभयो। विषको दाहले घाँटी नीलो भएपछि उहाँ नीलकण्ठ कहलिनुभयो। विष, भाङ, धतुरो, गाँजा, चरेस, हेरोइन आदि भगवान् शिवलाई चढाइनुपर्ने हो। तर अचेलका ठिटाठिटीहरू महाशिवरात्रिजस्तो पवित्र पर्वमा ‘शिवबुटी’ भन्दै भाङको नशामा डुब्न रमाइरहेका छन्। धर्मका नाममा घोर पातकी तस्करहरूको कालो धन्दा मौलाइरहेको छ।

शिवभूमि नेपाल, नारायणभूमि नेपाल, कपिलभूमि नेपाल, जनकभूमि नेपाल—त्यही पवित्र भूमि नेपाललाई लागूपदार्थको केन्द्र बनाइसकेका रहेछन् पापी कंशहरूले। इन्द्रप्रसाद ओलीज्यूले यो तीतो यथार्थको पनि दिव्य दृष्टिबाट सफल उद्घाटन गर्नुभएको छ।

लामो समय प्रहरी–प्रशासनमा रहँदा ओलीज्यूले सत्यको पक्ष र असत्यको विपक्षमा आफूलाई दृढतापूर्वक उभ्याउनुभयो। सरकार, न्यायालय तथा प्रहरी प्रशासनका उच्चासनमा रहेर लागूपदार्थ कारोबारलाई प्रोत्साहन गर्दै व्यक्तिगत सम्पत्ति बढाउन उद्यत भ्रष्ट तत्वहरूबाट हुन सक्ने आक्रमणको उहाँले परवाह गर्नुभएन।

विश्वभरिका युवाहरूको जीवन रक्षा गर्दै विश्वशान्ति र विश्वसमृद्धि कायम गर्ने उदात्त चिन्तन यस पुस्तकमा पाइन्छ। प्रहरी–प्रशासकले आफ्नो व्यवहारिक भूमिका इमानदारीपूर्वक निर्वाह गरेमा प्रत्यक्ष मृत्युलीलाका रूपमा रहेको लागूपदार्थ कारोबारले मुण्टो उठाउन पाउने छैन।

आफ्ना छोराछोरीलाई आध्यात्मिक संस्कार सिकाउनु र सज्जन साथीको सङ्गत गर्न प्रेरित गर्नु प्रत्येक अभिभावकको कर्तव्य हो।

नेपालमा गाँजाखेती वरदान हुन सक्थ्यो, तर लागूपदार्थको दुव्र्यसन नै विकासको तगारो बनेको छ। लागूपदार्थको अवैध कारोबार र दुव्र्यसन अन्त्यका लागि इन्द्रप्रसाद ओलीज्यूको गहन कृति ‘दिव्य दृष्टि’ अचुक रामबाण हुनेछ भन्ने विश्वास मलाई लागेको छ।

उमेर ४० पुग्नासाथ ‘बुढो भएँ’ भनेर स्वीकार गर्ने नेपाली समाजका मानिसहरूका लागि, करिब शरीरको उमेर ६० नाघेका तन्नेरी इन्द्रप्रसाद ओलीको जोश, जाँगर र अनुशासित व्यवहार आफैँमा प्रेरणादायी छ। उहाँले समाजसँग भएको स्रोत कसरी समाजमै लगानी गर्न सकिन्छ भन्ने अनेकौँ सकारात्मक ऊर्जा निरन्तर रूपमा प्रवाह गरिरहनुभएको छ।

लागूपदार्थ र त्यसको कुलतमा फसेका युवायुवतीहरूका लागि ठोस कार्यक्रम सुरु गर्ने दृढ निश्चय गरी कम्मर कसेर लागिपर्नुभएका इन्द्रप्रसाद ओलीले लेख्नुभएको पुस्तक ‘दिव्य दृष्टि’, लागूपदार्थ सेवनकर्तालाई दिइने परामर्श, नैतिकताका विषय, जीवनका महत्वपूर्ण लेख–रचना तथा उत्प्रेरणाका सामग्रीलाई आधार मानेर नेपाल प्रहरीले आफ्ना कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको सुनिन्छ। तर न त उहाँलाई धन्यवाद दिइन्छ, न कुनै सम्मान नै। कस्तो अचम्म! ‘सत्यं सेवा सुरक्षणम्’ को महामन्त्र जप्ने प्रहरी स्वयं जिम्मेवारीबाट कसरी विमुख हुन पुग्यो?

करिब दुई दशकभन्दा बढी समय बिताएको संगठनले समेत राम्ररी चिन्न नसकेको इन्द्रप्रसाद ओलीलाई म जस्तो अति साधारण नागरिकले राम्ररी चिन्ने त कुरै भएन।

“चाहे कसैले स्याबासी देओस् या नदेओस्, यो समाज मेरो हो—मैले जानेको र सकेको तरिकाले समाजका लागि योगदान दिन्छु” भन्ने भावनासहित निरन्तर लागिपर्नु भएका तन्नेरी इन्द्रप्रसाद ओलीलाई म धन्यवाद बाहेक अरू के टक्र्याउन सक्छु र?

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर