झापा । झापाका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले स्थानीय सरकार र सम्बन्धित कार्यालयहरूले आफूहरूलाई निरन्तर उपेक्षा गर्दै आएको गुनासो गरेका छन् ।

आज पत्रकार भेटघाट गरेको झापा जिल्ला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायी संघका अनुसार विकास निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएका साना उद्योगहरूलाई बेवास्ता गर्दै स्थानीय तह तथा कार्यालयहरूले निर्णय र खरिद प्रक्रिया अघि बढाउँदा उद्योगको अस्तित्व नै संकटमा परेको छ । संघले स्थानीय उत्पादनको प्रवर्द्धन र साना उद्योगको संरक्षणमा सरकार गम्भीर नदेखिएको जनाएको छ । संघ अध्यक्ष टिकाराम अधिकारीले भने केही स्थानीय तहले साना उद्योगको संरक्षण नीति अवलम्बन गरेका छन् ।

संघले स्थानीय सरकार र कार्यालयहरूबाट हुने यस्ता उपेक्षात्मक व्यवहार तत्काल रोक्न र साना तथा मझौला उद्योगलाई नीति तथा कार्यान्वयनमा प्राथमिकता दिन संघको आग्रह गरेको छ ।

