

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले यही पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णयमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली शुरू गर्न लागिएको उहाँले बताउनुभयो ।

सचिव पुष्करका अनुसार देशभरका ७५३ पालिकामा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो ।

श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकून् र वैदेशिक रोजगारीमा पूर्ण सुरक्षा सुनिश्चितता होस् भन्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।
सचिव पुष्करका अनुसार पछिल्लो समय टिकटक, फेसबुकका रिल्स लगायत सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ जस्ता भ्रमपूर्ण प्रचार बढेको छ । त्यसबाट श्रमिकलाई जोगाउन यो सेल प्रभावकारी हुने उहाँको विश्वास छ ।
‘हेल्प टु हेल्प टेन सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् । यसमा कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगाना लगायतका विषय समावेश छन् ।

