आर्थिक संकट, राजनीतिक अस्थिरता र सहकारीप्रति घट्दो विश्वासको बीच पनि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) लि. ले आफ्नो वित्तीय सुदृढतामार्फत सहकारी क्षेत्र पुनः उठ्दै गएको स्पष्ट संकेत दिएको छ।

झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपालले करिब दुई लाख शेयर सदस्यको विश्वास कायम राख्दै चालु आर्थिक वर्षमा ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ। सहकारी क्षेत्रमा देखिएको नकारात्मक धारणा र संकटका बाबजुद संस्थाले स्थिर वित्तीय अवस्था कायम राख्नु बचतकर्ता र शेयरधनीका लागि आशाको संकेत बनेको छ।

संस्थाको २९ औँ वार्षिक साधारणसभासम्बन्धी प्रेस विज्ञप्तिमा सार्वजनिक विवरणअनुसार, सहारा नेपालको शेयर पुँजी १ अर्ब ६९ करोड, जगेडा कोष १ अर्ब ३२ करोड, बचत १४ अर्ब १५ करोड र लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख रुपैयाँ पुगेको छ । २०८२ आषाढ मसान्तसम्म संस्थाको कुल वासलात १८ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ नाघेको छ।

जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै संस्थाले प्रति व्यक्ति बचत ३ लाखभन्दा कम रहेको हिस्सा करिब ९८ प्रतिशत र २५ लाखसम्मको ऋण करिब ९५ प्रतिशतमा सीमित गरेको जनाएको छ। यसले सहकारीलाई संकटबाट जोगाउँदै स्थायित्वतर्फ अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।

सहारा नेपालले आगामी दिनमा उद्यमशीलता विकास, युवा लक्षित सहुलियत कर्जा, वातावरणमैत्री कार्यक्रम, डिजिटल सेवा विस्तार र स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ। संस्थाले २०८२/८३ आ.व.भित्र २ लाख २५ हजार सदस्य, २० अर्ब वासलात र ४२ करोड नाफा पु¥याउने प्रक्षेपणसमेत गरेको छ।
सहकारी क्षेत्रप्रति विश्वास डगमगाइरहेको वर्तमान अवस्थामा सहारा नेपालको निरन्तर नाफा, पारदर्शिता र विस्तारले सहकारी क्षेत्र पुनः उकासिँदै गएको पुष्टि गरेको भन्दै सरोकारवालाले यसलाई सकारात्मक उदाहरणका रूपमा लिएका छन्।

