Aamsanchar

हल्दिबारी वडा नम्बर ४ पालिकामै पहिलो बालमैत्री वडा बन्न सफल

Author Image
बिहिवार, पौष ३, २०८२

झापा-  हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ । ५१ वटा सूचक सफलतापूर्वक पूरा गर्दै वडा नम्बर ४ पालिकामै पहिलो बालमैत्री वडा बन्न सफल भएको हो ।

वडा कार्यालयको प्राङ्गणमा आयोजित घोषणा कार्यक्रममा बालबालिकाले आफैं कार्यक्रम सञ्चालन गरेका थिए । उनीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र सक्रिय सहभागिताले बालमैत्री वडाले बालबालिकामा ल्याएको सकारात्मक परिवर्तनको स्पष्ट आभास दिलाएको थियो ।

कार्यक्रममा मेचे जातिको मौलिक नृत्यसहित विभिन्न सांस्कृतिक नृत्यहरू बालबालिकाले नै प्रस्तुत गरेका थिए । उनीहरूको सशक्त प्रस्तुति, अनुशासन र सिर्जनात्मकताले उपस्थित अतिथिहरूलाई भावुक बनाउनुका साथै बालमैत्री वातावरणको प्रभाव झल्काएको थियो ।

वडाध्यक्ष सन्तकुमार थापाले बालमैत्री वडा सम्बन्धी प्रतिबद्धता वाचन गर्दै बालबालिकाको अधिकार, संरक्षण र सहभागितामा वडा सदैव प्रतिबद्ध रहने बताउनुभयो । उहाँले सबै सरोकारवालाको सामूहिक मेहनतका कारण यो उपलब्धि हासिल भएको उल्लेख गर्दै, पालिकाबाट प्रोत्साहन स्वरूप १० लाख रुपैयाँ प्राप्त हुने जानकारी दिनुभयो । यस बजेटले बालबालिकाको शिक्षा, स्वास्थ्य र प्रतिभा विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अमर बिष्ट प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । उहाँले बालमैत्री वडा घोषणाले बालबालिकाको सुरक्षित, सहभागी र उज्यालो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्गदेन, जिल्ला समन्वय समिति प्रमुख विश्वनाथ बराल, कोशी प्रदेश सांसद छवि चुडाल, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर महेन्द्र, अन्य वडाका वडाध्यक्षहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बालबालिकाको नेतृत्व, प्रतिभा र सहभागिताले सुसज्जित यस कार्यक्रममा बालमैत्री वडा केवल घोषणा मात्र नभई व्यवहारमै कार्यान्वयनतर्फ अघि बढेको सन्देश दिएको सहभागीहरूको भनाइ छ ।

Views: 94

प्रतिक्रिया (०)