

विराटनगर – मोरङमा हाँगा झार्ने क्रममा रुखबाट लडेर बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जहदा गाउँपालिका–१ बुधनगर टोलका ६० वर्षीय बुद्धिराम राजवंशीको मृत्यु भएको हो । हाँगा काट्न साँझ ६ बजेतिर आफ्नै खेतमा रहेको पिठारीको रुखमा चढेका उनी उक्त रुखबाट अचानक खसेर गम्भीर घाइते भएका थिए ।

रुखबाट लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइयो । अस्पताल लैजानसाथ साँझ ७:२० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

घटनाको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

Views: 129

