Aamsanchar

कनकाईमा ब्ल्याङ्केट वितरण

Author Image
शुक्रवार, पौष ४, २०८२

झापा-कनकाई नगरपालिका–७ मा जाडोयामलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कनकाई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख आसा शर्मा शिवाकोटी र वडा अध्यक्ष भिष्म भूषण सिटौलाले संयुक्त रूपमा न्यानो कपडा वितरण गर्नुभएको हो।

कार्यक्रमअन्तर्गत वडा नम्बर ७ का आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका ४० परिवारलाई प्रति परिवार एक–एक थान ब्ल्याङ्केट वितरण गरिएको छ। उपप्रमुख शिवाकोटीका अनुसार वडाको बजेटबाट २० जना र उपप्रमुख कोषबाट २० जनालाई ब्ल्याङ्केट उपलब्ध गराइएको हो। उहाँले कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाले छिट्टै लोकसेवा आयोग र शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने जानकारी पनि दिनुभयो।

वडा अध्यक्ष सिटौलाले वडाकै बजेटबाट थप १० परिवारलाई न्यानो कपडा वितरण गर्ने योजना रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक र मानवीय कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै अपाङ्ग, दलित तथा अति विपन्न वर्गलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

जाडोयाममा न्यानो कपडा पाएपछि स्थानीयवासी खुशी देखिएका थिए भने नगरपालिकाको यस पहलले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

Views: 111

प्रतिक्रिया (०)