

वीरगन्ज – वीरगन्जबाट प्रहरीले फेरि ठूलो परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। एक हप्ताअघि मात्रै वीरगन्जबाटै १७६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले शनिबार राति भने २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो।


वीरगन्ज महानगरपालिका(२२ जगरनाथपुरबाट शनिबार राति प्रहरीले एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए। चरेससँगै उक्त ट्रकका चालकलाई पनि नियन्त्रणमा लिइएको उनले बताए।

प्रहरी उपरीक्षक पाठकका अनुसार शनिबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित सडकमा सवारी साधनको नियमित चेकजाँच लागि प्रहरीको टोली खटिएको थियो। त्यस क्रममा मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।
चरेस बरामद भएपछि उक्त ट्रकसँगै त्यसका चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घर भएका २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार थाहा नगरपालिका वडा नम्बर ११ कै २१ वर्षीय नवराज लोलाई पनि नियन्त्रणमा लिइएको पाठकले बताए।
चरेस र ट्रकसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।

