
बिर्तामोड – पठन संस्कृतिको विकास र समाजको बौद्धिक समृद्धिलाई लक्ष्य गर्दै झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघ–संस्थाहरूको संयुक्त पहलमा ‘पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने भएको छ।
अभियानको औपचारिक घोषणा कार्यक्रम २०८२ पुस १४ गते सोमबार बिर्तामोडमा दिउँसो १२ः३० बजेदेखि ३ बजेसम्म आयोजना हुने आयोजकले जनाएका छन्।
सन् २०२६ लाई पठन संस्कृति वर्षका रूपमा मनाउने उद्देश्यसहित सुरु हुन लागेको यस अभियान अन्तर्गत वर्षभरि पुस्तक पठन प्रवर्द्धन, साहित्यिक संवाद, सन्देशमूलक तथा सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, यस अभियानलाई सरकारी कार्यक्रमको रूपमा अघि बढाउन सरकारसमक्ष ज्ञापनपत्र पेश गरिने जनाइएको छ।
कार्यक्रममा गीत, कविता तथा गजल वाचनसँगै दुई पुस्तकको विमोचन गरिनेछ। हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’ र तीर्थ सिग्देलद्वारा लिखित इतिहास ग्रन्थ ‘त्यो झापा’ सार्वजनिक गरिने कार्यक्रम तालिकामा उल्लेख छ।
कार्यक्रममा झापाको इतिहासबारे वरिष्ठ अधिवक्ता तथा लेखक लीला उदासी, समाज विकासमा अभियानको भूमिकाबारे सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी तथा पठन संस्कृतिले समाजमा पार्ने प्रभावबारे लेखक केदार शर्माले विशेष मन्तव्य राख्नेछन्।
कार्यक्रममा झापाका १०० भन्दा बढी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व र विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ।


