

बागलुङ – पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिँदै छ। गाउँमा भएकाहरू पनि शहर झर्ने मिति जुराउँदै छन्। जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुन्।

१३ वर्ष अगाडि सुविधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन्। कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला। जिल्लामै अगुवा किसानका रूपमा परिचित कँडेलले बसाइँ सरे पनि जग्गा जमिन र घर छाडेका छैनन्।

किमबोट गाउँमा उहाँको ३२० बोट सुन्तला छन्। यसमध्ये २५० बोटले फल दिइरहेका छन्। सुन्तलाको स्याहारसुसारका लागि उहाँ हरेक हप्ता गाउँ पुग्छन्। कँडेलले सुन्तला खेती गर्न थालेको साढे तीन दशक बढी भयो।

२०४७ मा ३५ हजार रुपैयाँ लगानी गरेर सुरु गरेको सुन्तलाखेती अहिले फस्टाएको छ। हरेक वर्ष आम्दानी बढ्दै गइरहेको छ। २०४७ सालमा कँडेलले सुन्तलाखेती शुरु गर्दा बागलुङ जिल्लामै सडक आएको थिएन। स्थानीय कासीराम कँडेलले बिहुँ क्षेत्रमा सुन्तला खेतीको शुरुआत गरेका। उनीसँगै सिकेर कँडेलले सुन्तला लगाएका छन्। साठी वर्षीय कँडेलले १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन्।
गाउँको माया र सुन्तला खेतीप्रतिको मोहले गर्दा बागलुङ छोडेर टाढा बसाइँ नसरेको कँडेल बताउँछन्। वरपरका छिमेकीले धमाधम गाउँ छोडेपछि आफूले पनि परिवार लिएर बागलुङ बजार आएको उनले बताए। बिरामी पर्दा नजिक उपचार गर्न आशले मात्रै आफू बजार झरेको कँडेलले बताए। भएभरको सम्पत्ति गाउँमै रहेको जनाउँदै कँडेलले अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने आफू भएको दाबी गरे।
‘औषधि पानी खाने अस्पतालको नजिक भनेर बजार झरेको, हाम्रो नातागोता र छरछिमेकी सबै तराईतिर गए, हामीहरु चाँही घर पायक पर्छ भनेर बागलुङ बजारमा आएको हो, यहाँबाट गाउँ नजिक छ, हरेक साता गाउँ जाने सुन्तलामा मल पानी लगाउने, गोडमेल गर्ने काम गर्छु’ उहाँले भने, ‘म बजारमा बस्ने भन्ने मात्रै मेरो मन दिनहुँ गाउँमा हुन्छ, गाउँमा धेरै सुन्तला छ, अझ यो बेला टिप्नका लागि तयार हुँदै छ, चोर लाग्ने डर हुन्छ।’
कोदो, मकै फल्ने बारीभरि सुन्तला
अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गरे। मकै र कोदो उत्पादन गर्दा वर्षभर खान नपुग्ने जनाउँदै अहिले सुन्तलाले जीवनस्तरनै परिवर्तन भएको कँडेल बताउँछन्। सुन्तला खेतीबाट छोराहरु पढाएको सुनाउँदै अहिले सबै जापान, अमेरिका र पोर्चुगल रहेको उनको भनाइ छ।
सुन्तलाखेती गर्न थालेपछि कुनै पनि जग्गा बाँझो राख्न नपरेको कँडेलले बताए। सुन्तलाखेती गर्दाका बखत सडकले गाउँ नजोडिएको भन्दै डोकोमा बोकेर बागलुङ बजार ल्याएर बिक्री गरेको स्मरण गर्दै उनले अहिले त्यस्तो अवस्था नरहेको बताए। बसाइँसराइ गरेर तराई झरेकाहरुले पनि सुन्तलाको मायाले जग्गा जमिन नबेचेको उनले सुनाए।

