Aamsanchar

संकटको घडीमा सहकार्यको उदाहरण : कनकाई नगरले प्रहरीलाई पुनः गाडी दियो

Author Image
सोमवार, पौष ७, २०८२

बिनोद पाण्डे

बिर्तामोड । झापाको कनकाई नगरपालिका क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउन कनकाई नगरपालिकाले सुरुङ्गा इलाका प्रहरी कार्यालयलाई एकथान गाडी हस्तान्तरण गरेको छ। जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि उत्पन्न भएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नगरपालिकाले आफ्नै प्रयोगमा रहेको  गाडी प्रहरीलाई उपलब्ध गराएको हो।

नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रयोग गर्दै आएको मे १ झ १२२ नम्बरको सरकारी बोलेरो गाडी आज औपचारिक रूपमा इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरिएको हो। गाडी हस्तान्तरण कार्यक्रममा उपमेयर शिवाकोटीको प्रत्यक्ष सहभागिता रहेको थियो।

यस अवसरमा नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले शान्ति–सुरक्षा नागरिकको पहिलो आवश्यकता भएको उल्लेख गर्दै स्थानीय सरकार प्रहरीसँग सधैं सहकार्य गर्न तयार रहेको बताए। उनले भने,
“कनकाई नगर क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउनु हाम्रो साझा दायित्व हो। कठिन परिस्थितिमा खटिने सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नु स्थानीय सरकारको कर्तव्य हो। यस गाडीले प्रहरीको गस्ती र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास लिएका छौं।”

अघिल्लो कार्यकालमा पनि कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई एकथान गाडी उपलब्ध गराइसकेको थियो। तर जेनजी आन्दोलनका क्रममा उक्त गाडी आगजनीमा परेपछि प्रहरीले लामो समयसम्म मोटरसाइकलमार्फत गस्ती गर्नुपर्ने बाध्यता थियो।

कतिपय स्थानीय तह र केन्द्र सरकारअन्तर्गत प्रहरीबीच अपेक्षित  सहकार्यको अभाव देखिँदै आएको सन्दर्भमा कनकाई नगरपालिकाले प्रहरीलाई निरन्तर गर्दै आएको सहयोग सकारात्मक, जिम्मेवार र उदाहरणीय रहेको स्थानीयहरूको भनाइ छ।

कनकाई नगरका वडा नं. १ देखि ७ सम्मको क्षेत्रलाई कार्यक्षेत्र बनाएर शान्ति–सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज सुवास ढुङ्गानाले नगरपालिकाप्रति आभार व्यक्त गर्दै यस सहयोगले नागरिक सुरक्षामा थप प्रभावकारिता आउने बताए।

कनकाई नगर क्षेत्रका नागरिकको सुरक्षाका लागि खटिएको प्रहरीलाई स्थानीय सरकारले देखाएको निरन्तर साथ र सहयोगले शान्ति, सुरक्षा र सहकार्यको बलियो सन्देश दिएको छ।

Views: 94

प्रतिक्रिया (०)