

विराटनगर – मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ ।

विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार ९पुस १०० बिहान दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार, विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोसी अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।थापा कोसी प्रदेशबाट प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेलिरहेका थिए । ब्याट्सम्यान रहेका उनले केही फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाइसकेको परिवारले जनाएको छ ।

थापा आमा तनुजा र भाइ प्रदीपसँग बस्दै आएका थिए ।
मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । थापाको शव पोस्टमार्टमका निम्ति कोसी अस्पतालमै राखिएको छ ।

