Aamsanchar

बाबा गोरखनाथ र गोरखकालीको ऐतिहासिक–आध्यात्मिक महत्त्व स्मरण

Author Image
आइतवार, पौष १३, २०८२

नेपालको इतिहास, एकीकरण र सनातन परम्परामा बाबा गोरखनाथ र गोरखकाली देवीको योगदान अतुलनीय रहेको छ। पृथ्वीनारायण शाह र बाबा गोरखनाथबीचको भेट तथा “जहाँ जहाँ टेकिन्छ, त्यहाँ त्यहाँ विजय हुन्छ” भन्ने आशीर्वादलाई नेपाल एकीकरणको आध्यात्मिक ऊर्जा र सामर्थ्यको स्रोतका रूपमा लिइन्छ।

बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथको महिमा नेपाल–भारतसहित विश्वभरका सनातन समुदायमा विशेष मानिन्छ। उहाँको नामसँगै गोर्खा जिल्ला, गोरखा दरबार र शाह वंशको उद्गम जोडिएको छ। गोरखा दरबार क्षेत्रस्थित गोरखकाली देवीको पीठलाई शाह वंशको कुलदेवीका रूपमा पूजा गरिन्छ। पौष कृष्ण अष्टमीका दिन विशेष पूजा हुने परम्परा छ।

त्यसैगरी, फूलपातीका दिन गोरखकाली मन्दिरबाट जमरा काठमाडौं ल्याउने चलन सयौं वर्षदेखि कायम छ। यद्यपि गणतन्त्रपछिका वर्षहरूमा यस्ता परम्परामा अपेक्षित ध्यान नदिइएको गुनासो छ। पशुपतिको मृगस्थलीस्थित गोरख मन्दिर र त्यहाँ बाबा गोरखनाथले गरेको १५ वर्षे ध्यानस्थल संरक्षण अभावका कारण बेवास्तामा परेको अवस्था छ।

गोरखनाथले ‘देवल जात्रा’ र आडम्बरी धार्मिकतामाथि व्यङ्ग्य गर्दै श्रद्धा, भाव र भक्ति बिना गरिने कर्म निष्प्राण हुने सन्देश दिएका छन्। मानव, पशुपंक्षी सबैमा देवत्वको वास स्वीकार्दै सेवा र सदाचारमा जोड दिनु उहाँको मूल शिक्षा हो।

नेपाली भूमिको रक्षा, धर्म–संस्कृतिको संरक्षण र गौ रक्षाका लागि बाबा गोरखनाथ र गोरखकाली देवीको आशीर्वाद आज पनि उत्तिकै आवश्यक रहेको श्रद्धालुहरूको विश्वास छ।

Views: 41

प्रतिक्रिया (०)